स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् । सोमबारको सचिवालय बैठकले स्थायी कमिटीको बैठक तोक्ने सम्भावना रहेको प्रचण्डलाई भेटेर फर्किएका नेता देवेन्द्र पौडेलले बताए । नेपाल पोलिटव्युरो गठनको प्रस्ताव राखेको स्रोतले जनाएको छ ।
स्कुल विभागका उपप्रमुखसमेत रहेका नेता पौडेलको विभागका सदस्यहरूको नामावली र कार्यविधि टुग्याउन आग्रह गर्दै खुमलटार पुगेका थिए । महासचिव विष्णु पौडलसँग प्रचण्डले सोमबारको बैठकका एजेण्डाबारे छलफल गरेका छन् । नेकपाले ३२ विभागमा सदस्यहरू चयन गर्न बाँकी छ ।
सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले सदस्यहरूको नामावली सचिवालयमा पेस गर्ने भनिएको छ । ३५ सदस्यीय विभागमा पूर्वएमालेबाट २० र पूर्वमाओवादीबाट १५ जना रहने सैद्धान्तिक सहमति भएको नेकपा स्रोतले जनाएको छ ।
आसन्न स्थायी कमिटी बैठकबाट वामदेव गौतमलाई उपाध्यक्ष बनाउने एजेण्डा पनि रहेको नेकपा स्रोतले जनाएको छ । प्रचण्डले ओलीसहित सबै नेताहरूसँग छलफल गरी सरकार तथा पार्टीको पक्षमा अभियान चलाउन विशेष प्रस्ताव तयार पारिरहेको निकट स्रोतले जनाएको छ ।
सोमबारको बैठकमा उपचुनाव भएका स्थानहरूको समीक्षात्मक रिपोर्टमाथिसमेत छलफल हुने बताइएको छ । अघिल्लो सचिवालय बैठकले आइतबारसम्म रिपोर्ट पठाउन मातहत कमिटीलाई निर्देशन दिएको थियो ।
अध्यक्ष प्रचण्डले अब चाँडै सबै कमिटीका बैठक राखेर देशव्यापी रूपमा जनपरिचालन अभियान सञ्चालन गर्ने जानकारी नेताहरूलाई दिएका छन् । जनवर्गीय संगठनहरूलाई पनि एकीकरणको काम तत्काल टुग्याउन निर्देशन दिने तयारी छ ।
पार्टी एकता टुंगिन ढिला हुँदा तलसम्म कमिटीहरू निष्क्रिय भएको र कार्यकर्तामा समेत निराशा छाएकाले अब ढिला नगरी पार्टी देशव्यापी अभियानमा निस्किने उनले बताएका छन् ।