बुटवल – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र रहेर पार्टीलाई नै अन्तर्घात गर्ने परिपाटी मौलाउँदै गएको भन्दै दुःख व्यक्त गरेका छन्। उनले एकजुट भएर अगाडि बढ्नुपर्नेमा पार्टीभित्र अन्तर्घात गर्ने तत्व मौलाउँदै गएको भन्दै त्यस्ता तत्वलाई कार्वाही हुनुपर्ने बताए।
कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला उद्घाटन गर्न भैरहवा आएका देउवाले अन्तर्घात गर्नेहरूप्रति आफूलाई असह्य भइरहेको बताउँदै देउवाले त्यस्ता तत्वलाई कारवाही नगर्दासम्म कुनै पनि निर्वाचन नजितिनेसमेत दावी गरे। एक फरक प्रसंगमा देउवाले पछिल्लो उपनिर्वाचनमा धरानमा पकड जमाएको कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको भन्दै खुसी व्यक्त गरे।
नेपाली कांग्रेसले नेकपाको पकड भएका क्षेत्रहरूमा जित्दै जाने विश्वास आफूले गरेको उनको भनाई थियो। ‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो। जहाँ अन्तर्घात हुँदैन त्यहाँ चुनाव जितिन्छ। त्यसैले पार्टि कार्यकर्ताहरू एकताबद्ध हुनपर्छ,’ उनले भने।
सोही कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले केपी ओली नेतृत्वको सरकारले नागरिकको अधिकार खोस्न खोजेको बताउँदै प्रजातन्त्रको दियोलाई कसैले निभाउन नसक्ने बताए।