images
images

अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन आह्वान

गौर – नेपाल कम्युनिष्ट पार्टी प्रदेश-२ का अध्यक्ष प्रभु साहले अनियमितता र भ्रष्टाचारविरुद्ध खडा हुन आह्वान गरेका छन्। शनिबार रौतहटको फतुवा विजयपुर नगरपालिका-८, विजयपुरमा मनरुप महतो स्मृति विवाह भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले मुलुकमा अनियमितता र भ्रष्टाचार व्याप्त भएको भन्दै यसको विरुद्ध जाग्न सबैमा आह्वान गरेका हुन्।

मुलुकले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धि कार्यान्वयन गर्न मुलुकबाट भ्रष्टाचार निर्मुल गर्नुपर्ने अध्यक्ष साहको तर्क थियो। समृद्धिको बाधकको रूपमा भ्रष्टाचार र आर्थिक अनियमिततालाई चित्रित गर्दै उनले भने, ‘हामीले लामो लडाइपछि मुलुकबाट निरकंश शासन व्यवस्था फाल्यौँ तर अझै त्यसको अवशेष बाँकी छ। त्यतिबेलाका पञ्च र कांग्रेसले सृजना गरेको वेथिति चाहे त्यो आर्थिक अनियमितता होस् भ्रष्टाचार होस् चाहे सामन्ती सोच होस्।

ती सबैलाई उखेलेर फाल्नुपर्छ। र त्यसका लागि तपाई हामी एकजुट भएर वेथितिविरुद्ध लड्नुपर्छ।’ अध्यक्ष साहले  समाजमा जरा गाडेर बसेको भ्रष्टाचारलाई उखेलेर नफालेसम्म समाज बदल्ने अभियान सार्थक नहुने उनको तर्क छ। उनले भने, ‘समाज बदलाबको जुन अभियानमा हामी छौँ। त्यो अभियान तब मात्र सार्थक हुन सक्छ जब हामीले समाजमा जरा गाडेर बसेको भ्रष्टाचारलाई उखेलेर फाल्छौँ।’

उनले भ्रष्टचारीको कुनै रूप, जात, धर्म, समुदाय, पार्टी नहुने बताउँदै उनीहरू केवल विकासका बाधक र असल समाजका शत्रु हुने बताए। उनले भने, ‘त्यस्ता तत्व जबसम्म तपाई हाम्रो बीचमा रहन्छ तबसम्म हामी समृद्धि र सामाजिक जागरणको लक्ष्यमा पुग्न सक्दैनौँ। त्यसैले म आह्वान गर्दछु, अनियमितता र भ्रष्टाचारका विरुद्ध खडा हुनुहोस्।’