images
images

भरतपुर विमानस्थल मर्मतको काम ६५ प्रतिशत सकियो

चितवन – भरतपुर विमानस्थल बन्द गरेर अहिले मर्मत सम्भारको काम तिव्र पारीएको छ। मंसिर १५ गत्तेदेखि १० दिनका लागी सम्पुर्ण हवाई सेवा बन्द गरेर धावनमार्ग र पार्किङ ओभरलेको काम धमाधम भइरहेको हो।

गौरी पार्वती, सन्जिवनी जेभिले ९ करोड ९८ लाख ८५ हजार ८ सय २७ रुपैयाँमा ठेक्का लिएर धमाधम काम गरीरहेको छ। यहि २५ गत्तेदेखि नियमित हवाई सेवा सञ्चालन गर्ने योजनाका साथ विहान, दिउँसो र आवश्यक्ता अनुसार रातिमा पनि काम गरिरहेको विमानस्थलका सूचना अधिकारी एवं उपप्रवन्धक केसव लम्सालले बताए।

अहिलेसम्म करिव ६५ प्रतिशत काम सकिएको लम्सालले बताए।  १ हजार २ सय मिटर लामो धावनमार्गको ओभरले आइतवर सकाउनेगरी काम भइरहेको छ। आजसम्म ७ सय मिटरमा ओभरले सकिएको छ। सोमबारदेखि ७०, ७० मिटरको पार्किङको काम सुरु हुने छ। पार्किङ दुवैतर्फ २०/२० मिटर चौडाई बढाइएको छ। पार्किङ विस्तारसँगै एटिआर स्ट्याण्डरको हुने र जहाज पार्किङमा सहज हुने लम्सालले बताए। यसअघि पार्किक स्थल सानो हुँदा जहाज पार्किकमा समस्या हुँदैआएको थियो।

६१ सालमा बनेको पिचमा यसपटक पहिलो पटक ओभरले गरिएको हो। यसअघि ७ वर्ष पहिले सामान्य सेन्सेलिङ गरिएको थियो। नयाँ प्रविधियुक्त मेसीनबाट काम भइरहेकाले छिटो, भरपर्दो र काम सकिएको भोलिपल्टबाटै नियमित उडान सुरु गर्न सकिने विमानस्थलले जनाएको छ।  विमानस्थल बन्द गरेर मर्मत सम्भारका काम भइरहे पनि आपत्कालीन स्थितिमा ससाना हेलिकोप्टर भने ल्याण्ड गरिरहेको विमानस्थल कार्यालयले जनाएको छ।

हरेक दिन ८ सय यात्रुले भरतपुर विमानस्थलबाट हवाई यात्रा गर्ने गर्छन्। १० दिन बन्द हुँदा ८ हजार यात्रु प्रभावित भएका छन्।  करिब ६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ। पार्किङस्थलमा अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन्।

विमानस्थल मर्मतसम्भार भएपछि ठूला तथा साना जहाज उडान र अवतरण गर्न सजिलो हुने कार्यालयको भनाई छ। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका ५, ५ जहाज काठमाडौँ र एक/एक जहाजले पोखरा उडान भर्दै आएका छन्।