images
images

बैंकका सीईओको तलब वृद्धिबारे अब सोच्नुपर्छ : अर्थमन्त्री खतिवडा

२० मंसिर, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब वृद्धिले मात्र मुलुकलाई फाइदा नहुने बताएका छन् ।

ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएर एकीकृत सेवा शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले सीईओको तलब वृद्धिका विषयमा सोच्ने बेला आएको बताए ।

हिजो ५० हजार खाने सीईओहरु १ लाख, २ लाख, ५ लाख, १० लाख भन्दा धेरै खान थालिसक्नुभएको छ’ उनले भने, ‘त्यसरी सीईओहरुको तलब बढिरहेको छ, तर बैंकर समृद्ध भएर मुलुकमा समृद्धि आउदैन यस विषयमा सोच्नुपर्छ ।’

अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको चोरीको घटना निकै दुखद् रहेको बताए । बैंकका कर्मचारीहरु सबै राम्रो सोचाइका नहुने भन्दै उनले बैंक व्यवस्थापनले त्यसतर्फ सोच्नुपर्ने बताए ।

बैंकलाई ग्राहक पहिचान फारम (केवाईसी) सँगै कर्मचारी पहिचान फारम (केवाईयी) समेत भराउन अर्थमन्त्री खतिवडाले सुझाव दिए । बैंककै कर्मचारीको लापरबाहीका कारण बैंक खाताको रकम लुटिनुमा बैंकले आफ्ना कर्मचारी नचिन्नु प्रमुख कारण रहेको समेत उनले बताए ।

जनता बैंकलाई आफूमा समाहित गरेर सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमईलाई अब जनताको मन जित्नुपर्ने चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताए । ठूलो भएर मात्रै जनताको मन जित्न नसके पनि मन जित्ने आधार भने भएको बताए ।

उनले भने, ‘ठूलो त हुनुभयो, अब जनताको विश्वास जित्ने चुनौती तपाईहरुमाझ छ, पुँजीको हिसाबले मात्रै होइन विश्वासका आधारमा पनि ठूलो बन्नुहोस् ।’

बैंक मर्जर भएर बलियो बन्दा लगानी गर्ने क्षमता पनि बढ्ने भन्दै अर्थमन्त्री खतिवडाले दीर्घकालीन लगानीमा जोड दिन सुझाव दिए । मुलुककले अहिले उच्च अंकको आर्थिक वृद्धि चाहेको भन्दै उनले अल्पकालीन लगानीबाट मुलुकको समृद्धि नआउनेसमेत बताए ।

अर्थतन्त्रमा सुधार हुनु पर्ने धेरै विषयहरु रहेको भन्दै अर्थमन्त्री खतिवडाले पछिल्लो समय भएका सुधारले पनि राम्रो संकेत गरेको बताए ।