१९ मंसिर, काठमाडौं । अछामको साँफेबगर नगरपालिकास्थित एक छाउ गोठमा महिलाको मृत्यु भएको सन्दर्भमा परिवारका सदस्यलाई तत्काल पक्राउ गरी कारवाही थाल्न महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएपछि प्रहरीले बिहीबारै प्रक्रिया अघि बढाएको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मुलुकी अपराध संहिताको दफा १६८ अनुरुप महिनावारी (छाउपडी)को बेला छाउ गोठमा बस्न बाध्य पार्ने परिवारका सदस्यलाई कारवाहीको दायरामा ल्याउन आग्रह आग्रह गरेका थिए । लगत्तै अछछाममा प्रहरीले छाउगोठमा निधन भएकी अमृता रावतका जेठाजु छत्र राउतलाई पक्राउ गरेको छ ।
साँफेबगर नगरपालिका ३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको गत आइतबार राति छाउगोठमा निधन भएको भएको थियो । उनका पति वैदेशिक रोजगारीमा रहेको र सासु ससुरा पनि बाहिर भएकाले घरको तत्काल अभिभावक रहेका आधारमा जेठाजुलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको डिएसपी जनकबहादुर शाहीले बताए ।
मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ । सो दफा अनुसार छाउ गोठमा बस्नु पनि दण्डनीय हो ।
छाउगोठमा बस्ने वा बस्न लगाउने अर्थात कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था छ । राष्टसेवकले यस्तो गरेको रहेछ भने थप तीन महिना सजाय हुने व्यवस्था छ ।
महान्यायाधिवक्ता अग्नि खरेलले कानुनले छाउ प्रथालाई दण्डनीय बनाइसक्दा पनि कार्यन्वयन नहुने र वर्षेनी छाउगोठमा महिला र किशोरी तथा बालिकाहरुको अकालमा ज्यान जाने अवस्था कायम रहेकाले अपराध संहिताको व्यवस्थालाई कार्यन्वयनमा लैजान आफूले ताकेता गरेको पुष्टि गरे ।
उनले भने ‘कानुनले छाउपडीको बेला छाउगोठमा राख्ने वा बस्ने दुवै कार्यलाई दण्डनीय कसूर मानेको छ । बस्नेको त अकालमा ज्यान गइसकेका छ तर बस्न लगाउने वा छाउगोठमा बस्न अनुमति दिने व्यक्तिलाई कारवाही गरियो भने अरु परिवारमा यस्तो घटना दोहोरिदैन भनेर प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयलाई भनेको हुँ ।’
महान्यायाधिवक्ताले पीडित पक्षबाट जाहेरी नआए पनि प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाउनू भनेकाले प्रहरी प्रतिवेदनकै आधारमा मुद्दा दर्ता गरिएको डीएसपी शाहीले बताए । पीडित पक्षबाट जाहेरी आउने म्याद रहेको भन्दै उनले जाहेरी नआए पनि कानुन बमोजिम मुद्दा अघि बढ्ने जानकारी दिए ।
Related