काठमाडौं – सर्वोच्च अदालतमा मुद्दा परेसँगै २१ महिनादेखि रोकिएको इम्बोस्ड नम्बर प्लेटको मुद्दा संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । आज सुनुवाई सुरु भएको उक्त मुद्दा हेर्दाहेर्दैमा सकिएको छ । यो मुद्दाको सुनुवाई भोली पनि निरन्तर हुने भएको छ ।
विसं २०७४ फागुन १० गते अन्तरीम आदेश मार्फत रोकिएको नम्बर प्लेट जडानको मुद्दाको सुनुवाई सर्वोच्चले आजबाट सुरु गरेको हो ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको पूर्ण इजलासमा सुनुवाई जारी छ।
तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले अधिवक्ता भरकुमार बस्नेतले दायर गरेको रिटमा ‘कारण देखाऊ’ आदेश दिँदै आदेश दिनु भएको थियो । यता सर्वोच्चका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो ।
आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए
विशेष अदालत, काठमाडौंको कैफियत प्रतिवेदनका आधारमा शाही पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएका थिए ।
त्यसविरुद्ध सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धुरौटीमा छुटाइदिने खड्काको आश्वासन थियो ।
कोइरालाका अनुसार उनले माग गरिएको रकममा ५० हजार रुपैयाँ छुट गरिदिने पनि भनेका थिए । यता नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।
काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध आज पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ ।
उनलाई गत वैशाखमा प्रहरी प्रधान कार्यालयले पदबाट निलम्बन गरेको थियो । लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्तिले डिएसपी ढुंगेलको नाम लिएका थिए । गत चैत २६ गते रानीबारीमा भएको डकैती प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डिएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।


जनता भ्वाइस 







