images
images

नेकपा सचिवालयको निष्कर्ष यसरी बाहिरियो, भारतीय प्रधानमन्त्री भेटगर्न अनिच्छुक

काठमाडौं – नेपाल भारत सीमा विवादका विषयमा कुरा गर्न नेपाल सरकारले भारत पठाउन लागेका विशेष दुतसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेट गर्न अनिच्छा देखाउनु भएको छ । सीमा विवाद बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले पार्टी वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई यस विषय कुरा गर्न भारत पठाउने तयारी गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेता नेपालको भारत भ्रमण तयार गर्न र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटघाटको समय मिलाउन परराष्ट्र मन्त्रालयललाई जिम्मा दिनु भएको थियो । नेकपा नेताहरुका अनुसार भारतले समय दिएको खण्डमा एकसाता अघिनै नेता नेपाल विशेष दुतका रुपमा भारत जाने तयारी थियो । दुईदेशका परराष्ट्र मन्त्रालयले यसको प्रयास सुरु गरेपनि नेपालबाट सीमाका विषयमा कुरागर्न जाने विशेष दुतसंग भारतीय प्रधानमन्त्री मोदीले भेटगर्न नचाहेपछि नेता नेपालको भारत भ्रमण रोकिएको हो ।

सीमा विवादका विषयमा प्रधानमन्त्री ओलीले भारत पठाउन लागेको कुरा केहि समय देखि चर्चामा रहेपनि आज बसेको नेकपा सचिवालयको बैठकपछि यो विषय बाहिरिएको हो । केही समय अघि भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ ।  यता सचिवालय बैठकले उप निर्वाचनमा अन्तर्घात नभएको निष्कर्ष निकालेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो ।

यद्यपी निर्वाचनका विषयमा औपचारिक समिक्षाको जिम्मा भने निर्वाचन भएका सम्बन्धित कमिटीहरुलाई दिइएको छ । यस विषयमा समिक्षा गर्ने जिम्मा सम्बन्धित वडा, नगर, प्रदेश र जिल्ला कमिटीहरुलाई दिइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । अर्को बैठक आगामी २३ गते बिहान ९ बजे तय गरिएको छ। आफ्नो ठाउँको उपनिर्वाचनको समिक्षा त्यसअघि नै पठाइसक्न निर्देशन दिने निर्णय सचिवालयले गरेको छ ।

आगामी बैठकमा पार्टीको कार्ययोजनाका साथै स्थायी र केन्द्रीय कमिटीको बैठकको समेत टुंगो लगाइने भएको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आइरहेको सुधारप्रति प्रशन्नता व्यक्ति गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।