images
images

आगामी ‘मिसन’का लागि देउवाको रणनीति

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशनको ४३ महिनापछि सङ्गठनिक संरचना निर्माणको तयारीमा जुटेका छन् ।

२०७२ फागुनमा भएको १३औँ महाधिवेशनबाट काँग्रेसको कमान्ड सम्हालेका देउवाले यो बीचमा साङ्गठनिक संरचना निर्माणलाई प्रथमिकता दिएनन् ।४३ महिनासम्म देउवाले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानबाहेक एउटा पनि केन्द्रीय विभाग गठन गरेका छैनन् ।

उपनिर्वाचन सकिएसँगै अब देउवाको पहिलो प्राथमिकता साङ्गठनिक संरचना निर्माण रहेको केन्द्रीय सदस्य रमेश लेखक बताउँछन् ।

तत्कालीन विधानले दुई महिना र गत पुसको महासमिति बैठकबाट पारित नयाँ विधानअनुसार पनि महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ ।

नयाँ विधानले केन्द्रीय विभाग २८ वटा हुने व्यवस्था गरेको छ । विधान संशोधन भएको दस महिनामै २८ विभागलाई टुक्र्याएर ४५ बनाउने देउवाको तयारी छ ।

यसअघि तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको कार्यकालमा विभाग थपेर ४२ वटा पुर्याइएको थियो ।

विभाग बढी हुँदा साङ्गठनिक गतिविधि भद्रगोल हुने गरेको भन्दै विधान संशोधनका बेला २८ वटामा झारिएको थियो । तर देउवाले १४औँ महाधिवेशनाई ‘मिसन’ बनाएर आफूनिकट नेताहरुको व्यवस्थापनका लागि विभाग टुक्र्याउन लागिपरेको केन्द्रीय सदस्य शेखर कोइरालाको बुझाइ छ ।

‘विधान संशोधन गर्दा विभागको सङ्ख्या किन घटाइयो र अहिले किन बढाउनुपर्यो ? यसको जबाफ दिनुपर्छ,’ कोइरालाले भने, ‘१४औँ महाधिवेशनमा सत्ता कब्जा गर्ने नियतले विभागको सङ्ख्या बढाउँदै केन्द्रीय सदस्यहरुको व्यवस्थापन गर्न खोजेको प्रस्ट हुन्छ । यसले महाधिवेशनको सुनिश्चितमाथि पनि प्रश्न उठाउँछ ।’

देउवाले यता नेतृत्वविहीन भ्रातृ संस्था र केन्द्रीय कार्यसम्पादन समिति गठनमा पनि चासो देखाएका छन् ।  उनले यतिबेला देखाएको तीव्र चासोलाई १४औँ महाधिवेशनमा पार्टी गठन आफू अनुकूल तयार पार्न थालिएको संस्थापनइतर पक्षको बुझिएको छ ।

पार्टीका संरचनालाई पूर्णता दिएर पार्टीलाई पूर्णरूपमा जागृत बनाए महाधिवेशनमा होमिने देउवाको योजना रहेको लेखकको तर्क छ ।

त्यसका लागि केन्द्रीय विभाग, कार्यसम्पादन समिति गठन, म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति निर्माणको तयारीमा छन् देउवा ।

जसबाट आफूनिकट नेता–कार्यकर्ताको व्यवस्थापन हुँदा अनुकूल परिस्थिति निर्माण हुने र त्यसैको जगमा महाधिवेशनमा जाने उनको रणनीति देखिन्छ ।

नियमित महाधिवेशन आगामी फागुनमा हुनुपर्ने भए पनि विधानको सुविधा उपयोग गर्दै देउवाले ०७७ फागुनमा मात्रै महाधिवेशन गर्ने तयारी गरेका छन् । त्यहीअनुसार पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको कार्यतालिका ल्याउने देउवाको तयारी छ ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकपछि बारम्बार महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएका थिए ।

काँग्रेसमा केन्द्रीय महाधिवेशन गर्नका लागि करिब ६ महिना क्रियाशील सदस्यताको टुङ्गो लगाउन र अर्को ६ महिना बुथ, वडा, क्षेत्र, प्रदेश अधिवेशन गर्न लाग्छ ।

सभापति देउवा यहीअनुसार अगाडि बढ्ने रणनीतिमा रहेको बताए । गएको भदौमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कात्तिकसम्म पार्टी सङ्गठनको वडा तहको समायोजन सक्ने, मङ्सिरभर क्रियाशील सदस्यताको अद्यावधि गर्ने, त्यसपछि क्रियाशील सदस्यता वितरण र महाधिवेशन कार्यतालिका तोक्ने निर्णय गरेको थियो ।

स्थानीय तहमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयअनुसार बाँकी जिल्लाको समायोजनको काम टुङ्ग्याउन, विदेशस्थित जनसम्पर्क समितिलाई अधिवेशनका लागि परिपत्र गरी क्रियाशील सदस्यता उपलब्ध गराउने र पार्टी विधानअनुसार नयाँ प्रवेशी सदस्यहरुको क्रियाशील सदस्यता वडाबाटै सिफारिसका लागि पठाउने देउवाले तयारी गरेका छन् ।

देउवाको आगामी कदम काँग्रेसजनका लागि अर्थपूर्ण हुनेछ । किनभने सभापतिमा दोहोरिने सङ्केत गर्दै आएका देउवाका आगामी निर्णयहरु आफूअनुकूल महाधिवेशनको माहोल निर्माण गर्नेमा केन्द्रित हुने छ ।

संस्थापन पक्षबाट आसन्न पार्टी महाधिवेशनमा अहिलेसम्म देउवा सभापतिका एक्ला दाबेदारको रूपमा देखिएका छन् ।

आम निर्वाचनपछि हेटौँडामा भएको पार्टीका जिल्ला सभापतिको भेलामा देउवा त्यसको पहिलो सङ्केत छोडेका थिए ।

उनले भनेका थिए, ‘हाम्रो पराजय र कम्युनिस्ट पार्टीहरुको एकीकरणले चुनौती थपिएको छ । तर म विचलित भएको छैन । मैले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टीको रूपमा स्थापित गर्ने प्रण गरेको छु ।’

त्यसयता देउवाले ‘काँग्रेसलाई पहिलो पार्टी नबनाएर राजनीतिबाट विश्राम नलिने’ उद्घोष गर्दै आएका छन् ।

देउवा क्याम्पमा सभापतिमा उनको उम्मेदवारी रहेको खण्डमा चुनौती उठाउन दोस्रो तहका कुनै नेता तयार भएको देखिँदैन । अहिलेसम्म कसैले पनि सभापतिका लागि इच्छा जाहेर गरेको पनि पाइँदैन । उपसभापतिद्वय विमलेन्द्र निधि र विजय गच्छदार पनि देउवाले आफैं नछाडेसम्म चुनौती दिने पक्षमा छैनन् ।

यताइतर पक्षमा भने दोस्रो पुस्ताका नेताहरु सभापतिका लागि खुलेर लागेका छन् । उनीहरुले देउवा र पौडेलले अब उत्तराधिकारी खोज्नु पार्टी र देशको हितमा हुने भन्दै विश्राम लिन दबाब दिँदै आएका छन् । तर देउवा पार्टी सभापति भएर अझै मुलुकको प्रधानमन्त्री बन्ने आसमा छन् ।

संस्थापनइतर खेमामा देउवालाई चुनौती दिन पौडेल अग्रभागमा छन् भने महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला पनि देउवालाई चुनौती दिने लाइनमा छन् ।

यद्यपि इतर पक्षभित्र कसले जित्ने भन्ने प्रतिस्पर्धा छ । जसबाट आफूनो मिसन पूरा हुनेमा देउवालाई आशावादी छ । काँग्रेसमा पार्टीको भावी नेतृत्वमा आफूलाई उभ्याउन यति बेला त्रिकोणात्मक प्रतिस्पर्धा चलिरहेको छ ।