सुनसरीको धरान नगर सधैँ नै कम्युनिष्टको गढ रही आएको हो।
नेपालमा पहिलो पटक बहुदलीय व्यवस्थाअन्तर्गत २०१५ सालमा संसदीय र स्थानीय निकायको निर्वाचन भएको थियो। त्यतिबेला संसदमा कांग्रेसको दुई तिहाइ आएको थियो भने स्थानीय निकाय पनि उसैको वर्चश्व थियो।
त्यस्तो बेलामा पनि धरानले भने वाम मेयर छानेको थियो। वामपन्थी नेता केदारप्रसाद खनाल मेयर निर्वाचित भएका थिए। २०४६ सालको आन्दोलनपछि बहुदल आयो। २०४८ सालमा संसदीय र स्थानीय निकायको निर्वाचन भयो।
त्यो बेला र त्यसयता कहिल्यै पनि यो पूर्वी शहरले कांग्रेस मेयर छानेन। संसदीय निर्वाचनमा पनि यहाँ वामपन्थीको यस्तो अधिपत्य थियो कि एमालेले विराटनगर गृहनगर भएका आफ्ना अध्यक्ष मनमोहन अधिकारीका लागि २०४८ सालमा सुनसरी-१ नै छानेको थियो। सुनसरी-१ मा धरान नगरपालिका पर्थ्यो। त्यसयता त्यो क्षेत्रबाट पनि वामपन्थीबाहेक अरू सांसद चुनिएका छैनन्।
यसपालि मेयरमा कांग्रेसका तिलक राईलाई निर्वाचित गरेर धरानले ६० वर्षदेखिको त्यो अविछिन्न इतिहासमा ‘ब्रेक’ लगाइदिएको छ।
६ दशक लामो किल्ला विपक्षीले भेद गरेपछि नेकपामा आन्तरिक समीक्षा र केही आरोप-प्रत्यारोप सुरू भएको छ।
प्रदेश नेतृत्वले तल्लो तहमा उचित व्यवस्थापन गर्न नसकेकै कारण धरान उपमाहानगरपालिका गुमाउनु परेको नेकपाका प्रदेश १ कमिटी सदस्य एवम् पूर्वसांसद रेवतीरमण भण्डारीले सेतोपाटीलाई बताए । प्रदेश १ का नेकपा इन्चार्ज भीम आचार्य हुन्। आचार्य नेकपाका स्थायी समिति सदस्य र प्रदेश सांसद छन्।
‘नेतृत्वको दम्भ, अहंकार र व्यवस्थापकीय कमजोरीले धरानमा ६० वर्षदेखिको हाम्रो किल्ला भत्किएको हो,’ भण्डारीले भने।