images
images

‘साङ्लो’ को गीत चल्यो, हलमा फिल्म के होला ?

अहिले मेकरमा गीतसंगीत राम्रो बनाए फिल्मले हलमा दर्शक तान्छ भन्ने सोचाई छ । केही फिल्मको हकमा यो नदेखिएको होइन । ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिजको इनिसियल व्यापारमा गीतसंगीतको ठूलो योगदान छ । तर, गीत राम्रो हुँदैमा फिल्म चल्ने कदापी होइन । त्यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । गीतले युट्युबमा करोडौं भ्यूज बटुलेर पनि फिल्म बक्सअफिसमा पत्तासाफ भएका उदाहरण यहाँ अनगिन्ती छन् ।

तात्तातो उदाहरण हो, फिल्म ‘घामड शेरे’ । यो फिल्मको ‘साली मन पर्‍यो…’ बोलको गीतले इन्टरनेट रिलिजको छोटो समयमै करोड भ्यूज बटुल्यो । निर्माण टिम गीतको सफलताले फिल्मको व्यापारमा फाइदा हुनेमा विश्वस्त थियो । तर, युट्युबमा पटक पटक गीत हेरेका दर्शक नै फिल्म हेर्न हलमा पुगेनन् । अन्ततः फिल्मले बक्सअफिसमा घुँडा टेक्यो । कन्टेन्टभन्दा गीतमा मेहनत गर्दा धेरै फिल्मले ‘घामड शेरे’ को जस्तै नियति भोग्नु परेको छ । फिल्म ‘छक्का पञ्जा’ को ‘पूर्व पश्चिम रेल’ गीतपछि नेपाली फिल्ममा लोक शैलीको गीत राख्ने लहड नै चलेको छ । अहिले निर्माता/निर्देशकले कथाको माग नै नभए पनि फिल्ममा जबरजस्ती रुपमा लोक गीत घुसाउन थालेका छन् । फिल्मको महत्त्वपूर्ण सिनमा खर्च गर्न कञ्जुसाई गर्ने निर्माता गीत खिच्नका लागि लाखौं खर्च गर्न बैंक ब्यालेन्स रित्याउँछन् । जसले गर्दा गीतले युट्युबमा करोडौं भ्यूअर्स बटुले पनि फिल्मले हलबाट पोस्टरको समेत पैसा उठाउँदैन ।

‘एक्सन स्टार’ विराज भट्टले पनि आफ्नो निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को ‘चरीले काफल’ बोलको गीत खिच्नका लागि मोटो रकम खर्चिएका छन् । उनले एक अन्तर्वार्तामा यो गीत खिच्न २५ लाख लागेको बताएका छन् । गएको बिहीबार सार्वजनिक भएको गीतले अहिलेसम्म युट्युबमा साढे ८ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । भने, पाँच हजार बढी कमेन्टमा अधिकांशले गीतको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीतलाई ४९ हजार लाइक्स मिलेको छ ।

सफलताको मानक मानिने युट्युबको १७औं ट्रेन्डिङमा रहेको ‘साङ्लो’ को गीतमा अभिनेता विराजले पूर्व मिस नेपाल तथा यस फिल्मकी लिड अभिनेत्री निकिता चाण्डकसँग ठुम्का लगाएका छन् । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । ‘चरीले काफल’ गीतको अडियो र भिडियोलाई उत्कृष्ट बनाउन निर्माण टिमले निकै मेहनत गरेको छ ।

गीतले लोकप्रियता हासिल गर्दैगर्दा अब प्रश्न यो उठ्छ कि गीतजस्तै के फिल्मको कन्टेन्ट पनि बलियो छ ? वा, अरु मेकरझैँ अभिनेता विराजले पनि कथामा भन्दा गीतमा बढी मेहनत गरेका छन् ? दशक अगाडिसम्म विराजको अनुहार पोस्टरमा राखेको भरमा निर्माता मालामाल हुन्थे । तर, अहिले नेपाली फिल्मको सिनारियो परिवर्तन भएको छ । अहिले फिल्म स्टारले होइन, कन्टेन्टले चल्छ । विराजले यो वास्तविकता त पक्कै आत्मसात् गरेका होलान् !

पूर्व मिस नेपाल निकिताको अभिनयमा डेब्यू र विराजको डेब्यू निर्देशित फिल्म भएका कारण ‘साङ्लो’ कस्तो होला भन्ने कौतुहलता दर्शकमा छ । माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, जयनन्द लामा, आर.पि. पन्त, लय संग्रौला, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । मानकृष्ण महर्जनले खिचेको फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व छ ।