मतगणना सम्पन्न भएका ५० स्थानमध्ये नेकपा र नेकपा समर्थित उम्मेदवार सहित ३१ स्थानमा वामपन्थीले जितेका छन् । यसअघि कांग्रेसले जितेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष र यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष उपचुनावबाट नेकपाले जितेको छ ।
उपचुनावमा कांग्रेसले दुई गाउँपालिका गुमाए पनि भक्तपुरको प्रदेशसभा सदस्य थप गर्न सफल भएको छ । उपचुनावको मतगणना सकिएका ५० मध्ये कांग्रेसले एक प्रदेशसभा सदस्यसहित ११ वडाअध्यक्ष जितेर १२ स्थान आफ्नो पक्षमा पार्न सफल भएको छ ।
त्यस्तै समाजवादी पार्टीले चार वडाध्यक्ष जितेको छ भने राष्ट्रिय जनता पार्टी नेपालले ३ वडाध्यक्ष जितेको छ । समाजवादीले एउटा वडा थप गरेको छ भने राजपाले एउटा गाउँपालिका अध्यक्ष गुमाएको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार दाङको क्षेत्र नम्बर ३ ‘ख’प्रदेशसभामा नेकपाकी विमला कुमारी खत्री ५ हजारभन्दा बढीको फराकिलो मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएकी छन् । यसअघि सो क्षेत्रमा नेकपाकै उत्तरकुमार ओली निर्वाचित भएका थिए ।
त्यस्तै बागलुङको क्षेत्र नम्बर २ ‘ख’ मा वाम गठबन्धनका खिमविक्रम शाही करिब २ हजार मतान्तरसहित प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । देशका तीनवटा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा भक्तपुर १ ‘क’मा यसअघि नै कांग्रेसका कृष्ण भँडेल निर्वाचित भएका थिए ।
उपचुनाव भएको एकमात्र प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय मतको फराकिलो अन्तरसहित विजयी भएकी छन् ।
उपचुनाव भएका तीन गाउँपालिका अध्यक्षमध्ये पाँचथरको फाल्गुन्द गाउँपालिकामा नेकपाका वीरवहादुर कुरुम्बाङ विजयी भएका छन् । यसअघि त्यहाँ नेपाली कांग्रेसका अमर नेम्वाङ विजयी भएका थिए ।
त्यस्तै संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाकै तेजबहादुर पोखरेल विजयी भएका छन् । यसअघि पनि सो गाउँपालिकामा नेकपाले नै जितेको थियो । नेकपाले यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा पनि विक्रम चौधरीलाई निर्वाचित गराउन सफल भएको छ ।
हुम्लाका खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपाकी रूपा शाही निर्वाचित भएकी छन् । यसअघि सो गाउँपालिकामा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसले दुई गाउँपालिका र राजपाले एक गाउँपालिका गुमाउँदा नेकपाले तीन गाउँपालिका थप गरेको छ ।
वडाध्यक्षतर्फ भने नेकपा र कांग्रेसले आ-आफ्नो संख्या कायम राख्न सफल भएका छन् । तर नेकपाले यसअघि कांग्रेसले जितेका ७ वडामा आफ्नो जित निकालेको छ भने नेकपाले यसअघि जितेका ५ वडामा कांग्रेसले जितेको छ ।