लुम्बिनी मंसिर १४, प्रस्तावित काठमाडौं–कुरिनटार–लुम्बिनी रेलमार्गको अलाएन्मेन्ट (नक्सांकन) र स्टेसन रहने ठाउँहरूको स्थलगत अध्ययन चिनियाँ रेलवे प्रशासनको उच्च नेतृत्व (उपमन्त्री) ले प्रस्तावित काठमाडौं–कुरिनटार–लुम्बिनी रेलमार्ग आयोजनाको उपमन्त्री (डेपुटी मिनिस्टर) आन लु साङको नेतृत्वमा रहेको २३ सदस्यीय टोलीले गरेको हो ।
नयाँ नक्सांकन अनुसार काठमाडौंदेखि कुरिनटारसम्म एउटै रुट रहनेछ । त्यसपछि कुरिनटार–लुम्बिनी र कुरिनटार–पोखरा गरी छुट्टाछुट्टै रुटहरू रहनेछन् । काठमाडौंदेखि कुरिनटारसम्मको रुटको लम्बाइ १ सय किलोमिटर हुनेछ । त्यस्तै, कुरिनटारदेखि लुम्बिनीसम्मको लम्बाइ १ सय ५७ किलोमिटर र कुरिनटार–पोखरा रुटको लम्बाइ ९८ किलोमिटर रहने अनुमान गरिएको छ ।
टोलीले प्रस्तावित रेलमार्गको अन्तिम स्टेसन लुम्बिनीस्थित मायादेवी मन्दिरनजिक रहने बताएको स्थलगत अध्ययनमा संलग्न रेल विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) अमन चित्रकारले जानकारी दिए । स्थलगत अध्ययनमा चिनियाँ टोलीसहित रेल विभागबाट सिडिई चित्रकार इन्जिनियर नवराज भट्ट सहभागी थिए ।
यसअघि काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने रेल योजना थियो । तर, तत्कालका लागि भने पोखराबाट लुम्बिनी जोड्ने योजनाबारे अध्ययनसमेत नभएको रेल विभागका अधिकारीहरूले बताए । चिनियाँ टोली बिहीबार साँझ ४ दिने भ्रमण पूरा गरी फर्किएको छ ।
यसअघि मंगलबार काठमाडौंमा भएको बैठकले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन दुई वर्षभित्र सक्ने गरी जिम्मेवारी बाँडफाँड गरेको थियो । कार्य विभाजनअनुसार रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिपिएस) गर्दा चीनले सबै प्राविधिक काम गर्ने तथा सोको लागत व्यहोर्ने र नेपालले स्थानीयसँग सम्बन्धित मुआब्जा, बस्ती व्यवस्थापनलगायत विषयलाई सम्बोधन गर्ने सहमति भएको थियो ।