वाणिज्य बैङ्कहरुको न्यूनतम चुक्तापुँजी २ अर्बबाट ८ अर्ब पु-याएपनि बैङ्क तथा वित्तीय क्षेत्रमा आर्थिक तरलता (लगानीयोग्य रकम) अभाव हुने गरेको भन्दै राष्ट्र बैङ्कले एकीकृत पुँजीका लागि बिग मर्जरको नीति लिएको हो ।
बिग मर्जरसँगै ठूला आयोजनाहरुमा लगानी गर्न बैङ्क सक्षम हुने र विदेशी विश्वास र लगानी समेत आर्जन गर्न सक्ने राष्ट्र बैङ्कको विश्वास छ ।
‘अहिले बैंकिङ क्षेत्रको प्रमुख चुनौतीको विषय पुँजी अभाव हो । हाम्रा ठूला भनिएका बैङ्कहरुसँग पैसा छैन,’ राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्ना निरौलाले भने, ‘पुँजी एकीकृतका लागि भनेपनि ठूला बैङ्कहरुको मर्जर अत्यावश्यक छ ।’
निरौलाका अनुसार हाल बैङ्कहरुमा कम पुँजी भएका कारण ठूला आयोजनाहरुमा लगानी गर्न समस्या भइरहेको छ ।
‘एउटै बैङ्कले आयोजनामा लगानी गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पुँजी एकीकृत गर्नकै लागि ठूला बैङ्कहरु मर्जरमा जानु आवश्यक । यसको सुरुवात ग्लोबल र जनता बैङ्कले गरेका छन् ।’
सबैभन्दा ठूलो बैङ्क
ग्लोबल र जनताको मर्जरसँगै ग्लोबल आईएमई बैङ्क नेपालकै सर्वाधिक चुक्तापूँजी भएको बैङ्क बन्नेछ । मर्जरपछि बैङ्कको चुक्तापुँजी २० अर्ब पुग्नेछ ।
हाल ग्लोबल आईएमई बैङ्कको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैङ्कको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ ।
ग्लोबल गत आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसँगै बैङ्कको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ भने जनता बैङ्कले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्ताव गरेसँगै बैङ्कको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।
चुक्ता पुँजीका आधारमा मात्रै नभइ ग्लोबल बैङ्कले निक्षेप संकलन र कर्जा प्रवाहका आधारमा समेत सबैभन्दा ठूलो आकार लिने छ । मर्जरपछि ग्लोबल आइएमइ बैङ्कको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब रुपैयाँ हुनेछ ।
हाल अरु सबै वाणिज्य बैङ्कको संकलित निक्षेप र प्रवाहित कर्जाको आकार २ खर्बभन्दा मुनि छ ।
प्रवक्ता निरौलाले ग्लोबल र जनताको मर्जरसँगै देशमा लगानीको वातावरण बन्ने विश्वास व्यक्त गरे । दुई वाणिज्य बैङ्कहरुको लगानीको सहजतासँगै विदेशी विश्वास समेत जित्न सकिने उनको धारणा छ ।
ग्लोबल आइएमई बैङ्कका सिईओ महेश शर्मा ढकाल प्रशासनिक तथा कार्यप्रणालीमा केही चुनौती रहेपनि दुई बैङ्कको मर्जरले ठूलो उपलब्धी मिल्ने बताउँछन् । यसले बैङ्कर्सलाई मात्र नभएर सेवाग्राही र राष्ट्रलाई नै फाइदा पुग्ने उनेको भनाइ छ ।
‘पहिलो पटक दुई ठूला बैङ्कहरुबीच बिग मर्जर भएको छ । यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व राखेको छ,’ सिईओ ढकालले भने, ‘अब राष्ट्रिय गौरबका आयोजनाहरुमा समेत लगानी बढाउन हामी सक्षम भएका छौँ ।’
ढकालका अनुसार मर्जरपछि लगानीका लागि पहिलो विकल्प ग्लोबल बैङ्क नै बन्ने छ । सेवाग्राहीले सहज कर्जा पाउने छन् भने राष्ट्रिय गौरबका आयोजनामा उचित योगदान पुग्ने छ ।
यता, जनता बैङ्कका कार्यबाहक सिईओ सुजित कुमार शाक्य ग्लोबल र जनताबीचको मर्जरले थप उचाइ लिने बताउँछन् । बैङ्कको एकीकृत कारोबारले बैङ्कलाई मात्र नभएर सेवाग्राहीलाई समेत फाइदा पुग्ने उनको भनाइ छ ।
‘हामीले आउँदो शुक्रबबार देखि एकीकृत कारोबार संचालन गर्दैछौं । सबैजसो तयारी पूरा भएकोमा अहिले एकीकृत बैङ्कको सफ्टवयरको काम अघि बढेको छ । यसलाई पनि अन्तिम रुप दिन आउँदो बिहीबार दुबै बैङ्कको कारोबार रोकेर पूर्णता दिने तयारी छ ।’ शाक्यले भने, ‘यसका लागि राष्ट्र बैङ्कसँग स्वीकृति लिने तयारी भएको छ ।’
शाक्यका अनुसार दुई बाणिज्य बैङ्कबीचको सहकार्यले बैंकिङ्ग कारोबारमा थप सहजता आउने छ । पर्याप्त पुँजी संकलबाट बैङ्कको कर्जा लगानीमा सहजता मिल्नेछ भने विदेशी विश्वास समेत जित्ने छ । साथै अहिले भएका दुई बैङ्कका शाखा, एटीएम लगायत एक्सटेन्सन काउण्टरहरुबाट ग्राहकहरुले सहज सेवा पाउनेछन् ।
मर्जर पछिको बैङ्क संरचना
हाल रहेको दुबै बैङ्कको संरचनाहरुबाट एकीकृत कारोबारपछि बैङ्कको शाखा कार्यालय ३०० माथि पुग्नेछन् । बैङ्कका एटीएम २ सय ५६, शाखारहित बैंकिङ सेवा २ सय ४१, ३३ एक्सटेन्सन र बैङ्कका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् । तर बैङ्कका कर्मचारीको स्तर भने यथावत राखिने सिईओ साक्यले जनाएका छन् । मर्जरपछि बैङ्कको ग्राहक संख्या २० लाख नाघ्ने जनाइएको छ ।
मर्जरका लागि गत असार २० गते ग्लोबल आइएमई बैङ्क र जनता बैङ्कबीच पहिलो पटक सम्झौता (एमओयु) भएको थियो । राष्ट्र बैङ्कको प्रतिक्रियापछि पुनः दोस्रो पटक कार्तिक ७ गते बैङ्कहरु बीच थप सहमतिको बातावरण बनेको थियो । गत बिहीबारको राष्ट्रबैङ्कको अन्तिम स्वीकृति पाएसँगै बैङ्कहरु एक भएर जाने बाटो खुलेको हो ।