कञ्चनपुर ।
कञ्चनपुरको महाकाली नगरपालिका ३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या आरोपमा पक्राउ परेका चारजनालाई शुक्रबार कञ्चनपुर प्रहरीले सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयले हत्याको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका ४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई सार्वजनिक गरेको हो। मोटरसाइकल ओभरटेक गरेकी निहुँमा विवाद विवाद हुँदा कुटपिट, हेल्मेटले हिर्काएको र चक्कु प्रहार गरी दीपकको हत्या गरेको चारैजनाले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए। पन्तको बिहीबार छिमेकीको मोटरसाइकलमा बुवा विशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका ४ गोवरियास्थित सडकमा चारैजनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। उपचारका क्रममा दीपकको मृत्यु भएको थियो। प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से। १ प ३७७८ नम्बरको मोटरसाइकल र म। ३ प १०७० नम्बरको स्कुटी बरामद गरेको छ।