काठमाण्डौ मंसिर १३, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता तथा उपनिर्वाचन समेत हुन गइरहेको विशेष अवस्थामा प्रहरी अधिकृत तथा जवानहरुले पूर्ण निर्भिकताकासाथ अझै उत्कृष्ट सेवा प्रदान गर्दै आफ्नो कार्यकौशलता प्रदर्शन गर्न मातहतका सबै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन ।
मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता तथा केही स्थानमा सम्पन्न हुने उपनिर्वाचनको सुरक्षा व्यवस्थापन एवं समसामयिक विषयमा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शुक्रबार महानगरीय प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन ।
राष्ट्र र नागरिकप्रति समर्पित भई राज्यले सुम्पेको जिम्मेवारी निर्वाह गर्दै आएको नेपाल प्रहरी कुनै पनि चुनौतिको सामना गर्न सक्षम रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले विगतका अनुभव एवम् अभ्यासहरुको उपयोग गर्दै थप संवेदनशिल भई व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिएका थिए ।
अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता नेपालमा आयोजना भएको यस विशेष अवस्थामा सुरक्षा प्रदान गर्ने दायित्वलाई अवसरको रुपमा लिई अत्यन्त शिष्ट व्यवहार, आचरण एवम् आफ्नो टर्नआउटमा ध्यान दिई जिम्मेवारी वहन गर्नुपर्नेमा उहाँले जोड दिएका थिए । प्रहरीको मुख्य जिम्मेवारी समाजमा शान्ति सुरक्षा कायम गरी नागरिकलाई सुरक्षित बनाउनु रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतमा प्रदर्शन गरेको कार्यदक्षता एवम् कार्यकौशलताको अन्तर्राष्ट्रियस्तरमा समेत उच्च मूल्याङ्कन भएको चर्चा गरेका थिए ।