images
images

पाटन दरबारलाई केन्द्र बनाएर साइकल लेन बनाइँदै….

ललितपुर । ललितपुर महानगरपालिकाले सडकमा छुटै साइकल लेन निर्माण गर्ने भएको छ । महानगरले सहरलाई साइकल सिटी बनाउने योजना अन्तर्गत साइकल लेन निर्माण गर्न लागेको हो । पहिलो चरणमा कुपण्डोल —पुल्चोक — जावलाखेल —लगनखेल — मंगलबजार — पुल्चोकसम्म साइकल लेन निर्माण गरिनेछ ।

लेन निर्माण कार्यको औपचारिक सुरुवात शनिवार बिहान गर्ने महानगरले जनाएको छ । औपचारिक सुरुवात शनिवार भए पनि निर्माण कार्य भने बिहीबार रातीबाट भइसकेको छ ।

साइकल प्रयोगकर्तालाई प्रोत्साहित गर्न लेन बनाउन लागिएको नगरप्रमुख चिरीबाबु महर्जनले बताए ।  उनले भने,‘ साइकलको प्रयोगलाई प्रोत्साहित गर्न सके वातावरण जोगाउन सकिन्छ, साइकलमैत्री सडकमा प्रदुषण कम हुन्छ , सहर सफा हुन्छ ।’

वातावरण संरक्षणमा साइकलको प्रयोग महत्वपूर्ण हुने बताउदै उनले महानगरले वातावरण, पानीका मुहान संरक्षण र हरियाली प्रबद्र्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेकोे बताए । महानगरले साइकल लेन निर्माण कार्यदलका संयोजक वडा नं १३ का वडा अध्यक्ष गणेश केसीलाई तोकेको छ । पाटन दरबार क्षेत्र केन्द« बनाएर चारै दिशाबाट चारवटा साइकल लेन बनाउने महानगरको योजना छ ।

शनिवार बिहान ८ बजे स्थानीय बासिन्दा, साइकलप्रेमी , जनप्रतिनिधिहरु, कर्मचारीलगायत साइकलसहित महानगर कार्यालय परिसरमा जम्मा हुने कार्यक्रम   छ । साइकल र्याली पुल्चोक, कृष्ण गल्ली ,हरिहरभवन हुँदै कुपण्डोल सम्म गरिने महानगरले जनाएको छ ।

अन्य सवारीसाधनसँग मिलेर चलाउनुपर्ने, डेडिकेटेड साइकलका लागि मात्रै छुट्याइएको गरी दुई प्रकारको साइकल लेन बनाइने महानगरका पूर्वाधार निर्माण महाशाखाप्रमुख रुद्र गौतमले बताए । उनका अनुसार प्राथमिकतामा ४.५७ किलोमिटर सडकमा साइकल लेन बनाउने छ । महानगरले साइकल लेन निर्माणका लागि भदौ २ गते रमित कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ ।

सम्झौता अनुसार चैतसम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ । ललितपुर महानगर पहिलो साइकल मैत्री सहर हुने नेपाल साइकल सोसाइटीले जनाएको छ ।