images
images

चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने

चितवन मंसिर,१२ धावनमार्ग (रनवे) ओभरले तथा पार्किङ विस्तारका लागि चितवनको भरतपुर विमानस्थल १० दिन बन्द हुने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार मंसिर १५ गतेबाट २४ गतेसम्म विमानस्थल बन्द हुनेछ । प्राधिकरण कार्यालयले विमानस्थल १० दिन बन्द रहने ‘नोटाम’ जारी गर्दैछ । यो जारी भएपछि विमान कम्पनी तथा चालकहरुलाई भरतपुर विमानस्थलमा काम भइरहेको र हाल बन्द रहेको सूचना जानकारी हुन्छ । ‘मंसिर १५ गतेबाट १० दिन बन्द गरेर करिब १२ सय मिटरको धावनमार्गमा ओभरले गछौं, पार्किङ पनि विस्तार गरेर सुविधायुक्त बनाउँछौं’ विमानस्थल प्रमुख गौतमले भने ‘केही दिन विमानस्थल बन्द हुँदा असुविधा हुने भयो ।’ बुद्ध एयरका भरतपुर इन्चार्ज भक्त बस्नेतले महिनौ दिनसम्म काम गर्नुपर्ने अवस्था आएकोले बरु १० दिन बन्द गरेर भए पनि कामलाई तीव्रता दिने बिषयमा सहमत भएको बताए । उनी भन्छन् ‘पहिला आधा फ्लाइट मात्रै गर्न सकिन्छ कि भनेर पनि सोचेको हो, तर बिहान मौसम नखुल्नाले समस्या भयो, त्यो भन्दा बरु बन्द नै गरेर काम गरौं भनेर सहमत भइयो, यसबाट यात्रुलाई परेको असुविधाप्रति क्षमा माग्दै सूचना जारी गछौं ।’६२ बिघा क्षेत्रफलमा फैलिएको विमानस्थलको धावनमार्ग एक हजार २ सय मिटर लामो र ३० मिटर चौडा छ । भरतपुरमा बुद्ध, यति र सिम्रिक एयरलाइन्सले उडान गर्ने गरेका छन् । भरतपुर–काठमाडौँ दैनिक ८ र बुद्ध र यतिले भरतपुर–पोखरा एक एक उडान गर्दै आएका छन् । यो विमानस्थलबाट दैनिक ८ सय यात्रुले सेवा लिँदै आएका छन् ।

विमानस्थलको रनवे ठाउँ-ठाँउमा भत्किएको, कतै उप्किएको कारणले ओभरले गर्ने योजना बनाइएको प्रोजेक्ट इन्चार्ज हिमज्योती थापाले बताए । जुगेडीमा रहेको प्लान्टबाट असफाल्ट ल्याउनुपर्दा स्थानीयले रातिमा ल्याउन नदिएका कारणले पनि समस्या भएको प्रोजेक्ट इन्चार्ज थापाले बताए । विमानस्थल ओभरले गर्दा ६० एमएमको पिच हुनेछ । रातिको समयमा चिसो मौसम भएकोले काम गर्न नसक्ने तथा दिउँसोमा विमानहरुका कारणले काम गर्न असहज भएकोले बन्द गरेर नै काम गर्ने अनुमति लिइएको प्रमुख गौतमको भनाइ छ । गत वर्षकै कार्यक्रमको निरन्तरता अन्तर्गत रनवे ओभरले र पार्किङ विस्तार गर्न लागिएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावन मार्गमा ओभरले गरिएको छैन । रनवेमा विमानलाई समस्या हुँदै आएको देखेपछि ओभरले गर्ने योजना अघि सारिएको हो । नेपाल भ्रमण वर्ष सुरु हुनुभन्दा अगाडि पर्यटकहरुको कम चापलाई ख्याल गरेर यो समय छानिएको प्रमुख गौतमले बताए । चितवनमा फ्लाइट गर्नु नै पर्ने अवस्था भएमा पश्चिम चितवनको मेघौली विमानस्थललाई प्रयोगमा ल्याइने उनको भनाइ छ । ‘भोलीबाट मेघौलीमा घाँस काट्ने लगायतका अन्य कामहरु गछौं, हाम्रा कर्मचारीहरु पनि खटिन्छन्’ प्रमुख गौतमले भने, ‘विमान कम्पनीले चाहेमा मेघौलीमा फ्लाइट हुन्छ, आपतकालिन अवस्थाको लागि त भरतपुरमा नै हेलिकोप्टर राख्न सकिन्छ ।’

७०/७० मिटर रहेको पार्किङलाई बढाएर ९०/८० को बनाउन खोजिएको छ । अहिले साना जहाज चारबटा अटेपनि एटिआर र जेट स्टिमहरू एक साइडमा एउटा मात्रै अटाउन सक्छन् एउटा हेलिप्याड छुट्टै तयार हुन्छ । धावनमार्ग ओभरले र पार्किङ क्षेत्र विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८८ रूपैयाँ लागत अनुमान गरिएको छ ।