मंसिर,१२ जनकपुर । रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रम हुँदै आएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ ।
यस वर्ष चाँदनीचोकमा विश्राम नगर्ने
रामजानकी विवाह महोत्सवका लागि अयोध्याका जन्ती बुधबार साँझ महोत्तरीमा प्रवेश गरेका छन् । जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन् ।
मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका महन्थसहितका व्यक्तिहरुले जन्तीको स्वागत गरेका छन् ।
जन्तीहरु बुधबार राति मटिहानीमै बास बसेका छन् । महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तहरुलाई मिष्ठान्न परिकार खुवाउने चलन छ । मटिहानीमा रात्रि विश्राम गरेपछि उनीहरु बिहीबार बिहान लावालस्करसहित महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथको दर्शन गर्दै साँझ धनुषाको जनकपुरधाम पुग्ने छन् ।
जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट नै शुरु भएको छ ।