images
images

अर्घाखाँची बस दुर्घटना हुँदा मृतकको संख्या १९ पुग्यो, ११ को सनाखत

मंसिर, १२ अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर छ ।मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (बसन्त), भूमिकास्थान नगरपालिका ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका १० का छबिलाल गैह्रे, गुल्मी धुर्कोट २ घर भई हाल रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् ।

सनाखत हुनेहरुमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शितगंगा नगरपालिका-२ झिर्राका ३७ वर्षीय सन्त बहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेत छन् । कपिलवस्तुको चप्परगाउँ बस्दै आएकी सीता बस्नेत बस धनी सन्तबहादुर बस्नेतकी भाइबुहारी हुन् ।

यसैगरी भैरहवा मेडिकल कलेजमा उपचाररत ९ घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । अन्यको अवस्था भने सुधारोन्मुख छ । गम्भीर हुनेहरुमा अर्घाखाँचीको पाणिनी नगरपालिका ७ का कृष्ण विक, सोही स्थानका विष्णु विक, सन्धिखर्क नगरपालिका ८ का कमल मुखिया र सन्धिखर्क नगरपालिका ४ की सरस्वती भट्टराई छन् ।

यस्तै दाङको राप्ती गाउँपालिकाका-९ का ३३ वर्षीय प्रशान्त सुवेदीको अवस्था पनि गम्भीर छ । टाउकोमा चोट लागेका उनलाई लुम्बिनी सिटी अस्पतालबाट रिफर गरेर ललितपुरको बीएण्डबी अस्पतालमा पठाइएको छ ।

दुर्घटनामा घाइते भएका दुई जना भने अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१ ४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो । चालकले एक्कासी जोडले ब्रेक लगाउँदा बस अनियन्त्रित भइ भीरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यस्तै सन्धिखर्क नगरपालिका ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।