काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की (२) मा नेपाली कांग्रेसले ७७ वर्षे उम्मेदवारलाई चुनावमा उतारेको भन्दै आलोचना गरेका छन्।बुधबार कास्कीमा नेकपाले आयोजना गरेको चुनावी सभामा बोलेका प्रचण्डले गगन थापाले गत भदौमा संसदमा बोलेको कुराप्रति लक्षित गर्दै देवघाटतिर जानुपर्ने मान्छेलाई कांग्रेसले चुनावमा अघि सारेको भन्दै आलोचना गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएका बेला गत भदौ १८ गते संसदमा बोलेका कांग्रेस सांसद थापाले विरामी भएका ‘बा प्रधानमन्त्रीलाई’ नेकपाले आराम गर्न दिनुपर्ने बताएका थिए।संसदमा थापाले प्रधानमन्त्रीलाई धपेडी भएकोले आराम गर्न दिनुपर्ने बताएका थिए। त्यसबेला थापाले भनेका थिए, ‘मैले धेरैपटक नेपाल कम्युनिस्ट पार्टीका युवा सांसदहरूले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बासरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? ‘बा धपेडी नगर्नुस्, बा आराम गर्नुस्, बा बिश्राम लिनुस्। हामीले हाम्रो बालाई यति भन्न सक्छौं भने प्रधानमन्त्रीलाई किन भन्न सक्दैनौं ?’
गगनले बोलेको तीन महिनापछि बुधबार पोखरामा प्रचण्डले, ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाहीँ बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७७ बर्षको बूढालाई। जो अब देवघाटतिर जानुपर्ने मान्छेलाई। त्यहाँ गएर ध्यान र ज्ञान सिक्नपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्ष जवानलाई रेष्ट गर्ने भन्न मिल्छ त ?’ भन्ने प्रश्न गरे, ‘यो कहीँ कतैबाट मिल्ने कुरा होइन।’
कांग्रेसले कास्की २ मा ७० वर्ष कटेका खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।