images
images

नेपाली सेनालाई रुसले प्राविधिक सहयोग गर्ने

१० मंसिर, काठमाडौं । नेपाल र रुस सैन्य–प्राविधिक समन्वय सम्वन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । रुसका विदेशमन्त्री सर्गेइ लाभ्रोभले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन् ।

‘सैन्य–प्राविधिक समन्वयमा धेरै राम्रा कुराहरु छन् । हामीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने सहमति गरेका छौं,’ नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसित भेटवार्तापछि लाभ्रोभले भने । उनले यसबारे विस्तृत जानकारी भने दिएनन् ।

लाभ्रोभले नेपालमा हेलिकप्टर आपूर्ति विस्तार गर्ने योजना पनि सुनाए । उनले भने, ‘रसियाको विमान, खासगरी एमआइ–१७ हेलिकप्टरहरु नेपालको उच्च अवस्थितिमा निकै उपयोगी प्रमाणित भएका छन् र यस क्षेत्रमा पनि सहकार्यको योजना बनाइएको छ ।’

परराष्ट्रमन्त्री ज्ञवालीले साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) पूर्ण सदस्यता प्राप्त गर्न नेपालले चाहेको बताए ।

उनले भने, ‘नेपालले हरेक समस्याको समाधान संवाद र आपसी समझदारीबाट हुन सक्ने विश्वास गर्छ, जसले गर्दा एससीओमा नेपालको सहभागिता महत्वपूर्ण छ ।’

अन्तरसरकारी संगठनको रुपमा एससीओको स्थापना सन् २००१ मा साङ्घाईमा गरिएको थियो । यसका संस्थापक सदस्यहरु चीन, काजकिस्तान, कीर्गिस्तान, रसिया, ताजिकिस्तान र उज्बेकिस्तान हुन् । भारत र पाकिस्तानले सन् २०१७ मा यस संगठनको पूर्ण सदस्यता पाएका थिए । नेपाल सन् २०१६ मा औपचारिक रुपमा एसईओ डाइलग पार्टनर बनेको थियो ।