images
images

एक अर्ब २९ करोड नक्कली भ्याट बिल प्रकरणमा २१ विरूद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले ललितपुर महानगरपालिका-३ धोबिघाटका विनोदकुमार अग्रवाल, ललितपुर-२३ का विकास अग्रवालसहित २१ फर्महरूविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी एक अर्ब २९ करोड ३६ लाख एक हजार पाँच सय ६२ रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभागले आइतबार अग्रवालसहित २१ जनाविरूद्ध मुद्दा दायर गरेको हो।

निम्न आर्थिक अवस्था भएका मजदूरहरूको नाममा फर्म दर्ता गरी झूटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरेर सो बराबरको रकम राजस्व चुहावट गरेको विभागले जनाएको छ।

उनीहरूले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिङ कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिङ कन्सर्न, प्रसुमा सप्लायर्स प्रालि, स्मारिका जनरल सप्लायर्स, नाइस ट्रेडिङ, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रालि, सिमस ट्रेड इन्टरनेसनल, निशिला ट्रेडिङ, अविन ट्रेडिङ, किशा ट्रेड इन्टरप्राइजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरू दर्ता गरी वास्तविक रूपमा मालवस्तु खरिद विक्री नै नगरी विभिन्न फर्महरूलाई झूटो तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र विक्री गरेको विभागले जनाएको छ।

त्यस्ता फर्महरूबाट जारी भएका मूअकर बिजकमा उल्लेखित मूअकर रकम नेपाल सरकारको राजस्व खातामा नबुझाई राजस्व छली गरेको विभागको दाबी छ। ती फर्महरूबाट जारी भएको नक्कली कर बिल बिजकबाट खरिदकर्ताले क्रेडिट दाबी र आयकरतर्फ खर्च नदेखाई राजस्व छलेको विभागको अनुसन्धानबाट खुलेको छ।

उनीहरूलाई बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय मागिएको छ। साथै, मतियारलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुने माग दाबी गरिएको छ।

को को परे?

क्र..

नाम, थर कैफियत
१. बिनोद कुमार अग्रवाल मूख्य व्यक्ति
२. विकास अग्रवाल मूख्य व्यक्ति
३. पार्वती महरा प्रोप्राइटर
४. शिव शंकर वोगटी प्रोप्राइटर
५. पुजा महरा प्रोप्राइटर
६. अम्बिका अधिकारी प्रोप्राइटर
७. अशोक अधिकारी प्रोप्राइटर
८. सेर बहादुर कार्की प्रोप्राइटर
९. धर्म प्रसाद दहाल प्रोप्राइटर
१०. जानुका अधिकारी प्रोप्राइटर
११. रेनुका अधिकारी प्रोप्राइटर
१२. किरण थापा प्रोप्राइटर
१३. सविन कणेल प्रोप्राइटर
१४. शिव मन्दिल श्रेष्ठ व्यवसायी
१५. वालन कुमार श्रेष्ठ व्यवसायी
१६. भुवन पाण्डे चार्टर्ड एकाउन्टेन्ट
१७. कृष्णहरी मरहट्टा लेखा परीक्षक
१८. देवराज उपाध्याय लेखा परीक्षक
१९. संजयराज पाण्डे गुरुघराना लेखा परीक्षक
२०. निरोज के.सी. कर सहयोगी
२१. गोपाल प्रसाद भट्टराई कर सहयोगी