images
images

बसुरूद्दिन अन्सारीलाई पक्रन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको भातृ विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक बसरूद्दिन अन्सारीलाई पक्राउ गर्न माग गरेको छ।

अवैध शुल्क फिर्ता गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज प्रशासनले बन्धक बनाउने र कुटपिट गर्ने गरेपछि आइतबार वीरगञ्जमा अनेरास्ववियुले प्रदर्शन गरेको छ।

अनेरास्ववियुका  केन्द्रीय सचिव सुदेश पराजुलीले आफूहरूको मुख्य माग अन्सारीलाई पक्रनु रहेको बताए।

‘विद्यार्थीमाथि कुटपिट गर्ने नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारीलाई गिरफ्तार गर्नुपर्ने अखिलको मुख्य माग हो,’ उनले सेतोपाटीसँग भने, ‘मेरो नेतृत्वमा वीरगन्जमा अहिले प्रदर्शन जारी छ।’

सरकारले तोकेकोभन्दा धेरै शुल्क मेडिकल कलेजहरूले लिएपछि चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा छन्। अवैध शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालय र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिए पनि मेडिकल सञ्चालकहरूले अटेरी गर्दै आएका छन्।

यसैबीच नेसनल मेडिकल कलेजमा शुक्रबार दिउँसो विद्यार्थीमाथि भएको कुटपिटका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरिएको छ।

शनिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घटनाबारे छानबिन गर्न समिति बनाएका हुन्।

समितिलाई यथाशीघ्र घटनाको वास्तविकता पत्ता लगाएर प्रतिवेदन दिन निर्देशन दिइएको भट्टराईले बताए।

‘जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा समिति गठन गरिएको छ, सो समितिले घटनाबारे के भएको हो भनी सत्यतथ्य पत्ता लगाउँछ,’ उनले भने, ‘रिपोर्टका आधारमा कसलाई के कारबाही गर्नुपर्ने हो, हामी गर्छौं।’

नेसनल मेडिकल कलेज वीरगन्ज शुक्रबार दोस्रो दिन धर्नामा बसेका विद्यार्थीलाई कलेज प्रशासनले कुटपिट गरेको छ।

विद्यार्थीका अनुसार शुक्रबार कलेज प्रशासनका व्यक्ति आएर धर्नामा बसेका केही छात्रामाथि दुर्व्यवहार गरेका हुन्।

‘धर्नाका क्रममा कलेज प्रशासनबाट आएका व्यक्तिले आक्रमण गरे,’ एक विद्यार्थीले भने।

प्रहरीको सुरक्षा घेरामै विद्यार्थीमाथि कलेजबाट दुर्व्यवहार भएको उनले बताए। यो घटना भएपछि विद्यार्थीले सुरक्षाको माग राख्दै प्रहरीमा पुगेका थिए। उनीहरू राति साढे १२ बजेसम्म प्रहरीमा बसेका थिए।

शनिबार कलेज र प्रशासनबीच यस विषयमा छलफल भएको थियो। छलफलमा कलेजको पठनपाठन सञ्चालन गर्ने कुरा उठे पनि विद्यार्थीले शुल्कसम्बन्धी समस्या समाधान हुनुपर्ने माग राखेका थिए।

शुक्रबार विद्यार्थीले साँझ ५ बजेसम्म कलेज हातामा धर्ना दिएका थिए। मेडिकल कलेजले गैरकानुनी शुल्क उठाएको बिरोधमा धर्नामा बसेका विद्यार्थीलाई नेसनल मेडिकल कलेज वीरगन्जले बिहीबार छ घन्टा होस्टल बस्न रोक लगाएको थियो। आक्रमणम नै गर्न थालेपछि विद्यार्थी र्‍यालीसहित प्रहरीमा पुगेका थिए।

नेसनल मेडिकल कलेजले सरकारले तोकेभन्दा झन्डै छ लाख शुल्क उठाएपछि विद्यार्थीहरू आन्दोलन गरिरहेका छन्। शिक्षा मन्त्रालयले केही दिनअघि बढी उठाइएको शुल्क फिर्ता गर्न मेडिकल कलेजहरूलाई निर्देशनसहित कारबाहीको चेतावनी दिएको थियो।

तर, उक्त निर्देशन दिएको पन्ध्र दिन पुग्नै लागे पनि बढी उठाइएको शुल्क फिर्ता नभएपछि विद्यार्थीले आन्दोलन जारी राखेका छन्।

नेसनल मेडिकल कलेजले एमबिबिएसमा सय सिट संख्यामा विद्यार्थी भर्ना गरिरहेको छ। त्यहाँ अध्ययनरत् अधिकांश विद्यार्थीले कलेजले अतिरिक्त शुल्क उठाएको बताइरहेका छन्। सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, उक्त मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्।