images
images

नेपाल एयरलाइन्सका सबै जहाजमा भ्रमण वर्षको लोगो

८ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा नेपाल भ्रमण वर्षको लोगो राख्ने भएको छ । निगम कार्यकारी समितिको वैठकले उक्त निर्णय गरेको सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

वैठकले नेपाल सरकारद्वारा घोषित नेपाल भ्रमण वर्षलाई सफल बनाउन रणनीतिक कार्ययोजनालाई थप परिष्कृत एवम् परिणाममुखी बनाउने निर्णय गरेको उनले बताए ।

निगमले डिजिटल मिडिया सेलवाट फेसबूक, टि्वटर, ईन्स्ट्रग्राम र यूट्युवमा पर्यटनसम्वन्धी सामग्री प्रसारण गर्ने निर्णयसमेत गरेको छ । गुणस्तरीय सेवासहित पर्यटक आकर्षण गर्न केन्द्रीय कार्यालयस्थित विक्री कक्ष राती ८ बजेसम्म खूल्ला राख्ने वैठकको निर्णय छ ।

काठमाडौंका होटेल तथा टुर अपरेटर व्यवसायीहरुसँग सम्झौता गरी विदेशबाट आएका यात्रुहरुलाई निगमका बाहृय स्टेशनबाट प्याकेजमा टिकट विक्रीको व्यवस्था गर्ने निर्णय निगमले गरेको छ । भ्रमण वर्ष २०२० लक्षित थप कार्यक्रम बनाउन पाँच निर्देशक सम्मिलित समिति गठन गरिएको छ ।

मिडिया/पर्यटक सहजिकरणका लागि एक उप-समिति निर्माण गरी पाक्षिक प्रगति मूल्याङ्कन गरी थप कार्यक्रम बनाउने निगमले निर्णय गरेको मिश्रले जानकारी दिए । प्रत्येक अन्तर्राष्ट्रिय स्टेशनहरुमा पर्यटकहरुका लागि गोलाप्रथाद्वारा मासिक एकथान टिकट निःशूल्क उपलव्ध समेत गराइने छ ।