काठमाडौं, मंसिर ६: ठेक्का सम्झौताअनुसार काम भएको भए ४४ डबल सर्किट किलोमिटर तामाकोसी–काठमाडौं ४ सय केभी प्रसारणलाइन निर्माणको काम लगभगसम्पन्न भइसक्थ्यो। तर, आयोजना निर्माण सुरु भएको तीन वर्ष बितिसक्दा पनि आयोजनाको प्रगति निराशाजनक छ। सन् २०१७ अगस्ट १३ मा निर्माण सुरु भएको आयोजनाको भौतिक प्रगति१५ प्रतिशत मात्रै छ। जबकि आयोजना निर्माण सम्पन्न गर्ने म्याद सकिन पाँच महिनामात्रै बाँकी छ। उक्त आयोजना सन् २०२० अगस्ट १३ मा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो।
४४ डबल सर्किट किलोमिटर प्रसारणलाइन निर्माणको ठेक्का भारतीय एम/एस लारसेन एन्ड टर्बो लिमिटेडले पाएको थियो। ठेकेदार कम्पनीले सन् २०१७ मा १४.९ मिलियन अमेरिकी डलरमा उक्त आयोजनाको ठेक्का हात पारेको थियो। तामाकोसी काठमाडौं ४ सय केभी प्रसारणलाइन आयोजनाका प्रमुख नवराज ओझाले आयोजनाको साइट क्लियर नहुँदा अपेक्षाकृत प्रगति नभएको बताए।
आयोजनाको साइट समयमा नै क्लियर नहुँदा भौतिक प्रगति अत्यन्तै न्यून छ, उनले भने, आयोजनाको लागि ५३ वटा सामुदायिक वनका ३५ हजारभन्दा धेरै रुख कटान गर्नुपर्ने देखिन्छ।अहिलेसम्म रुख कटानसुरु गर्न सकिएको छैन। अर्कोतर्फ आयोजना निर्माणस्थल पुग्ने पहुँच मार्ग नहुँदा निर्माणमा समस्या देखिएको छ।
आयोजना प्रमुख ओझाले समयमै आयोजना प्रभावित क्षेत्रको रुख कटान गर्न नसक्दा फेरि अपडेटेड प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) स्वीकृत गराउनुपरेको बताए। सन् २०१४ मै पहिलोपटक प्रभावित क्षेत्रमा आइइई गरिएको थियो। तर, समयमै रुख कटान गर्न नसक्दा रुख बढेकाले फेरि अपडेटेड आइइई गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरेका छौ, उनले भने, ऊर्जा मन्त्रालयले स्वीकृत गरेको छ। त्यो मन्त्रिपरिषद्बाट पारित भएपछि मात्रै रुख कटान गर्ने अघि बढ्नेछ।
आयोजना प्रमुख ओझा सरकारी निकायहरुबीच समन्वय नहुँदा समयमै काम हुन नसकेको बताउँछन्। यो आयोजना ५३ वटा सामुदायिक वन क्षेत्रमा पर्छ, उनले भने, प्रत्येक सामुदायिक वनसँग रुख कटानको अनुमति लिनुपर्ने प्रावधानले समयमै काम हुन नसकेको हो। नागरिक न्युज दैनिकबाट