images
images

दीर्घकालीन विकास आयोजनामा लगानी गर्नुस्: गभर्नर डा. नेपाल

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले दीर्घकालीन प्रकृतिका विकास आयोजनामा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरेका छन्। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार उद्घाटन गर्न पुगेका अर्थमन्त्री खतिवडाले व्यवसायिक क्षेत्रको लगानीमा देखिएको अभाव हटाउन पनि बैंक तथा वित्तिय संस्थाहरुले दीर्घकालीन प्रकृतिका विकास आयोजनाहरुमा लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याएका हुन्।

उनले मुलुकमा दीर्घकालीन प्रकृतिको विकास आयोजनाका लागि पुँजी र जनशक्ति दुवै आवश्यक रहेको उल्लेख गर्दै त्यो अभाव पूर्ति गर्ने दिशामा अघि बढन पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए।

अर्थमन्त्री खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले छिटो मुनाफा लिने होडमा मात्रै ध्यान केन्द्रित गर्न नहुने पनि स्मरण गराए। उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पनि पूर्वाधार विकासमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिए।

गभर्नर नेपालले नेपालमा पूर्वाधार विकासका लागि लगानीको आवश्यक्ता रहेको उल्लेख गर्दै त्यसका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई वैदेशिक लगानी भित्र्याउन पनि पहल गर्न सचेत गराए। 

नेपालको पूर्वाधार विकासका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई बाह्य लगानी भित्र्याउन पनि राष्ट्र बैंकले आवश्यक वातावरण बनाई दिएको गभर्नर नेपालको भनाई छ।

गभर्नर नेपालले पूर्वाधार विकासका लागि स्थापना गरिएका बैंकहरुले आफ्नो सम्पूर्ण पुँजी पूर्वाधार विकासमै गर्नुपर्ने दायित्व रहेको पनि स्मरण गराए। उनले पूर्वाधार विकासमा लगानीको आवश्यकता बढ्दै गएकाले त्यो अभाव पूरा गर्ने काममा लाग्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सुझाव दिए।