नेपालगञ्ज – आठौँ राष्ट्रिय खेलकुदका लागि भएको प्रदेश छनौट प्रतियोगितामा बाँकेको महिला क्रिकेट टीम पुछारमा पर्यो । ५ नम्बर प्रदेशको १२ जिल्लामध्ये तीन वटा जिल्लाले मात्रै प्रतियोगितामा महिला क्रिकेट टीम उतारेका थिए ।
दाङ, रुपन्देही र बाँके गरी तीन जिल्लाले छनौट प्रतियोगिता खेल्दा बाँके ‘तेस्रो’ भयो । बाँकेबाट नै महिला क्रिकेट जन्मिएको र लामो समयसम्म बाँकेका सात जना महिला खेलाडीले नेपाली क्रिकेटमा ‘राज’ गरेको इतिहास अब इतिहासमै सीमित भइसकेको यसले देखायो । त्यतिमात्रै होइन, अब प्रदेशकै टीममा बाँकेबाट कोही पनि नपर्ने हुन् कि भन्ने चिन्ता थपिएको छ ।
प्रदेश छनौटमा बाँकेबाट चार जना अनुभवी खेलाडी मैदानमा उत्रिएका थिए । नेपालको पहिलो पुस्ताकी खेलाडीद्वय ममता थापा र तृष्णा सिंह तथा राष्ट्रिय खेलेका गीता गोसाई र सामना पुन टीममा थिए । अरु क्रिकेटप्रति आकर्षित भएका जुनियर थिए । प्रतियोगिता हार्नु भन्दा पनि बढी त १४ जनाको टीम पुर्याउन नै धौधौ भएको थियाे ।
महिला क्रिकेट जन्माएको जिल्लामात्रै होइन, बाँके सरकारी तलव खाने क्रिकेटका प्रशिक्षक भएको जिल्ला पनि हो । एकजना सिनियर खेलाडीले भनिन्, ‘सरकारी प्रशिक्षकले त एक दिन पनि प्रशिक्षण गराउँदैनन् । प्रतियोगिता भएको बेलामा होस् या अरु बेला नै ।’ राखेपले प्रशिक्षकलाई खाली तलव खुवाएर मात्रै पाल्ने हो कि काम पनि लगाउने हो ? बाँकेको क्रिकेटमा टड्कारो रुपमा यो प्रश्न उब्जिएको छ ।
प्रदेश प्रतियोगिताका लागि १४ जना खेलाडी छान्नु पर्ने थियो । जिल्लाभरीबाट १४ जना नै आइपुगे । त्यसमध्ये एकजना कोहलपुरकी खेलाडी फालिइन् । नेरी थापा आउने गरी भनेर अरु सबैलाई टीममा राखियो । नाम भन्न डराउने एकजना खेलाडी भन्छिन्, ‘टीममा परेका कोही बिरामी थिए । कोही भने राम्ररी नियम थाहा नभएका थिए । प्रतिस्पर्धी नभएकाले टीममा परेका थिए । अनि कसरी बाँकेले प्रतियोगिता जित्छ ?’
यसले के देखाउँछ भने अहिले बाँकेमा महिला क्रिकेटको ‘टीम’ नै छैन । नियमित प्रशिक्षण नहुने, क्रिकेटप्रति छात्राहरु आकर्षित भएपनि खेल्ने ठाउँ नहुने, बेलाबेलामा प्रतियोगिता नभएकाले कुनै बेलाको ‘हस्ती’ बाँके यतिबेला कमजोर भएको छ ।
बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापाले नेरी थापा पनि नआएको र खेलाडी नै धेरै नभएर राम्ररी छनौट गरेर प्रशिक्षण दिन नसक्दा प्रदेश छनौट प्रतियोगितामा बाँकेको लज्जास्पद हार भएको स्वीकारे ।
अहिले टीम नै नरहेको स्वीकार्दै अध्यक्ष थापाले निकट भविष्यमै नेपालगञ्ज, कोहलपुर र खजुराबाट पाँच वटा टीम बनाई आन्तरिक प्रतिस्पर्धा गराएर राम्रो महिला टीम बनाउने उद्घोष गरे । ‘नेपालगञ्ज र कोहलपुरबाट ५०/५० जना खेलाडी छानिसकेका छौँ । बैशाख तेस्रो सातामा खजुराबाट केही खेलाडी छान्छौँ र नेरी, ममताहरुलाई उनीहरुको टीम क्याप्टेन बनाएर आपसमा प्रतिस्पर्धा गराई राम्रो टीम तयार गर्छौ, अध्यक्ष थापाले आशाको किरण देखाए ।
मैदानको खोजी हुँदै
नेपालगञ्जमा क्रिकेट मैदानका अभाव रहेको छ । अहिलेसम्म मंगलप्रसाद स्कूलको मैदानमा खेलेर नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्मिए । स्कूलको मैदानले मात्रै पुग्ने स्थिति छैन । नयाँ मैदान नबनाई भएको छैन ।
यो कुरा बाँके जिल्ला क्रिकेट संघका पदाधिकारीलाई मात्रै होइन, नेपालगञ्जका मेयरदेखि बाँके निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राईसम्मलाई खड्केको छ । मन्त्री राईले तत्काल जग्गा खोजेर दिए आफूले करोडौ रुपैयाँ विनियोजन गर्ने सार्वजनिक कार्यक्रममै बताइरहेका छन् । मेयर धवलशमशेर राणा पनि जग्गा खोल्न व्यस्त छन् । तर, भन्ने बित्तिकै जग्गा कहाँ मिल्थ्यो र ?
नेपालगञ्ज–६, फूल्टेक्रामा हिन्दु र मुस्लिम समुदायले ‘प्रयोग’ गरिरहेको दश विगाह जमिन छ । त्यसमा क्रिकेट मैदान बनाउन संघका अध्यक्ष थापा, मेयर राणादेखि मन्त्री राईसम्म लागेका छन् । तर, यो त धार्मिक भावनासँग जोडिएको कुरा भयो ।
उपमहानगरपालिकाले जोडबल गरेर आफ्नो निर्णय लिन सक्दैन । मेयर राणाले भने, ‘हामीले दुवै पक्षलाई सहमतिमा ल्याएर त्यहाँ क्रिकेट मैदान बनाउने योजना अघि सारेका छाैँ । दुवै पक्षसमक्ष हाम्रो फाइल पुगिसकेको छ । केही दिनमै हुने वा नहुने कुरा फाइनल हुन्छ ।’ मेयर राणाले त्यहाँ नभए फूल्टेक्राको आर्मी ब्यारेक पछाडिको खाली जग्गालाई पनि हेरिरहेको जानकारी दिए । हिरमिनियामा ठूलो पार्क बन्दैछ । त्यसको बीचमा पनि खेल मैदान गराउने नगरपालिकाले योजना गरेको छ ।
नेपालगञ्जकी उपमयेर उमा थापामगरले उपमहानगरपालिकाको प्राथमिकतामा क्रिकेट मैदान परेको बताइन् । उनले महिला क्रिकेट जन्माएको ठाउँबाट महिला क्रिकेट उत्पादन नहुनु दुःखद भएको भन्दै यसो हुनुमा मैदान पनि एक पाटो हो भनिन् । सरकारले कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइरहेपनि त्यतिले मात्रै मैदानको समस्या समाधान नहुने भन्दै नेपालगञ्जमा क्रिकेट मैदान बनाउन जग्गा खोज्ने काम भइरहेको छ ।
मंगलबारदेखि छात्रा क्रिकेट
नेपालगञ्जमा मंगलबारदेखि अन्तर मावि उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल संघले नेपालगञ्जका १४ वटा विद्यालयका छात्रालाई प्रतियोगितामा सामेल गराएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा १४ वटा विद्यालयका छात्रालाई एक हप्ता तालिम दिएको संघले त्यसपछि प्रतियोगिता गराउन थालेको हो ।
संघले नेपालगञ्जको मंगलप्रसाद मावि, वाटरपार्क र मुक्तिपुरको ज्वालाफिल्डमा तालिम दिएको थियो । राष्ट्रिय टीममा प्रतिनिधित्व गरिसकेका ममता थापा, तृष्णा सिंह, गीता गोसाई र सामना पुनले छात्रालाई तालिम दिएका थिए । त्यही तालिम लिएका छात्राले उपमेयर कपमा प्रतिस्पर्धा गर्दैछन् । संघले सोमबार पत्रकार सम्मेलन गरेर चालिस हजार राशीको उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता गराउन थालेको जानकारी दियो ।
२१ देखि २८ गतेसम्म चल्ने अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा सरस्वती, वेष्टजोन, मंगलप्रसाद, सिद्धार्थ, युनाइटेड, आदर्श, होलिल्याण्ड, होप इन्टरनेशनल, शान्ति विद्या निकेतन, भेरी इमि, नेपालगञ्ज मोडेल एकेडेमी, एबीसी र युद्ध संस्कृति माविले प्रतिस्पर्धा गर्ने पक्का भइसकेको संघका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए । यस समाचार देश संचारबाट प्रकाशित गरिएको हो ।