images
images

शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द !

धनकुटा – राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा मंगलबार धनकुटाका सामुदायिक विद्यालय बन्द गरेका छन्। राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकहरुले स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सोही विरोधमा पठनपाठन बन्द गरेका हुन्। 

शिक्षको आन्दोलनका कारण मंगलबार बिहानैदेखि धनकुटाका सामुदायिक विद्यालय पूर्णरुपमा बन्द भएका छन्। बन्द सफल बनाउन जिल्लामा रहेका सबै सामुदायिक विद्यालय, सबै शिक्षक संघ संगठनलाई पत्राचार गरिएको नेपाल राहत शिक्षक संघ, धनकुटा जिल्ला कार्यसमितिका सचिव विश्व भण्डारीले बताए। धनकुटा जिल्लामा करिब ५०० राहत तथा २०० बाल विकास केन्द्रमा कार्यरत शिक्षक छन्।

गत असोज २२ मा राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकसँग भएको सम्झौता कार्यान्वयनमा नल्याएपछि आफूहरू आन्दोलनमा गर्न बाध्य हुनु परेको नेपाल राहत शिक्षक संघ, प्रदेश १ कार्यसमितिका उपमहासचिब ईश्वरीप्रसाद सुवेदीले बताए। उनले संघीय शिक्षक ऐनमा आफूहरूलाई स्वतः स्थायी हुने व्यवस्था नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।