images
images

संगठनका आफू निकट नेताहरूलाई पार्टीका लागि अघि बढ्न सिटौला निर्देशन

काठमाडौं। १३औं महाधिवेशनपछि नेपाली कांग्रेसभित्र तेस्रो धारका रूपमा आफूलाई चिनाएका नेता कृष्णप्रसाद सिटौलाले भ्रातृसंगठन तथा शुभेच्छुक संगठनका आफू निकट नेताहरूलाई पार्टीका लागि अघि बढ्न निर्देशन दिएका छन् । आइतबार आफ्नै निवास धुम्बाराहीमा नेपाल विद्यार्थी संघ, महिला संघसहित नेपाल ट्रेड युनियनको वर्तमान नेतृत्वमा रहेका र नेतृत्वमा निवर्तमान भएकाहरूलाई बोलाएर पार्टीको संगठन विस्तार गर्न देशभर सक्रिय हुन निर्देशन दिएका हुन् ।
‘पार्टीभित्रका समस्यासँग लड्दै गरौंला, पार्टीभन्दा बाहिर पनि कम्युनिस्ट शक्तिसँग लड्नुपर्ने अवस्था छ, तपाईंहरू जिल्लाजिल्लामा कार्यक्रम लिएर जानुस्, कांग्रेसका लागि अब अघि बढ्नुस्,’ नेता सिटौलाले भने । उनले कांग्रेसभित्र आफ्नो समूह सशक्त रहेको र झन् सशक्त हुँदै गएकाले दृढ इच्छाशक्तिसहित उच्च मनोबलका साथ कार्यकर्तामा उत्साह जगाउन आग्रह गरेका हुन् ।

‘१३औं महाधिवेशनपछि स्थापित भएको हाम्रो समूहको अवस्था तपाईं सबैलाई थाहा नै छ, हामी झन् सशक्त हुँदै छौं अब कांग्रेसलाई पनि सशक्त बनाउनुपर्छ,’ उनले सम्बोधनका क्रममा भने । नेता सिटौलाले नेविसंघ आबद्ध विद्यार्थीहरूलाई कुनै पदमा नरहँदा पनि काम गर्न सकिने भन्दै हौसलाका साथ अनुशासनको दायरामा रहेर काम गरेर देखाउन आग्रह गरे । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले पार्टीले बनाएको विधानमा मजदुरका पक्षलाई बेवास्ता गरिएको भन्दै देशभर छरिएर रहेका मजदुरको शक्तिलाई कांग्रेसले पछ्याउन सक्नुपर्ने जनाए ।
‘भोट बैंकका रूपमा रहेका मजदुरलाई पार्टीले समेट्न नसकेकोमा दुःख लाग्छ, पार्टीले विधानमै मजदुरलाई समेट्छ जस्तो लागेको थियो तर भएन’ उनले भने ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले आफूहरू रहेको समितिले नै महाधिवेशन गर्ने सम्भावना हुँदाहुँदै पार्टीले विघटन गरेको भन्दै आउने तदर्थ समितिले पनि महाधिवेशन गर्न नसक्ने ठोकुवा गरे । ‘विधानअनुसार तदर्थ समितिले ६ महिनामा महाधिवेशन गर्नुपर्ने हुन्छ, त्यो सम्भावना छैन, पार्टी सभापति शेरबहादुर देउवा हुँदासम्म नेविसंघको महाधिवेशन हुँदैन,’ उनले भने ।
नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले भने पार्टी नेतृत्वले विधानको उल्लंघन गरेर नेविसंघमा तदर्थ समिति बनाए आफूहरूले हेरेर नबस्ने भन्दै समानान्तर समिति बन्न सक्ने संकेत गरे ।
‘विधानको पालना हुनुपर्छ भन्ने हाम्रो माग हो, भएन भने हामी पनि आफ्नो तयारीमा छौं,’ उपाध्यक्ष अधिकारीले भने । कांग्रेसको शक्तिशाली र प्रमुख भ्रातृ संगठनहरूमा सिटौला समूहले नै बर्चस्व जमाउँदै आएको छ ।