images
images

पीएसएलको चौथो खेलमा पनि सन्दीपको तारिफयोग्य बलिङ

काठमाडौं – यूएईमा जारी पाकिस्तानी सुपर लिग(पीएसएल)को आफ्नो चौथो खेलमा पनि नेपाली लेगस्पीनर सन्दीप लामिछानेले तारिफ योग्य बलिङ गरेका छन्। उनको टोली लाहोर क्वालान्डर्सले बिहीबार राति कराची किंग्सको सामना गरेको थियो।

यस खेलमा सन्दीपले २ विकेट लिए। आफ्नो लयलाई यथावत राख्दै उनले ४ ओभरमा जम्मा १७ रन मात्रै खर्चिए। यस खेलमा सन्दीपले कराचीका दुवै ओपनरलाई सस्तैमा पेभिलियनको बाटो देखाए। पहिलो विकेटका लागि १२ बलमा १५ रन बनाएर खेलिरहेका न्युजल्यान्डका बिस्फोटक ब्याट्म्यान कोलिन मुन्रोलाई क्याच आउट गराएका उनले अर्का ओपनर बाबार अजामलाई बोल्ड गरी आउट गरे।

यो खेलसँगै पीएसएलमा सन्दीपको नाममा १० विकेट पुगेको छ। यस खेलमा लाहोर भने ५ विकेटले पराजित भयो। टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले २० ओभरमा ५ विकेटल गुमाएर १३३ रन मात्रै बनाउन सक्यो। १३४ रनको सामान्य लक्ष्य पाएको कराचीलेले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। 

४ खेलमै १० विकेट लिएका सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा तेस्रो नम्बरमा उक्लिन सफल भएका छन्। उनीभन्दा माथि पेशावार जाल्मीका अली ६ खेलमा १६ विकेट लिएर शीर्ष स्थानमा छन्। लाहोरकै हरिस राउफ ७ खेलबाट ११ विकेट लिएर दोस्रो स्थानमा छन्। १६ ओभर बलिङ गरेका सन्दीपले हालसम्म ९३ रन लिएका छन्।