काठमाडौँ – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने बताउँदै यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाएको बताए ।
‘सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन,’ उनले भने ।
उनले आजै शवहरु त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि सामूहिक श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने जानकारी दिए । ‘त्यसपछि मृतकका परिवारका सदस्यलाई अन्त्येष्टि गर्न जहाँ लैजानुहुन्छ त्यसैका लागि सरकारले सहयोग गर्छ’, उनले भने ।
बुधबार भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
त्यसबेला विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विमानस्थल पुगेका थिए ।
आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट अपराह्न १ः२५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।