images
images

ट्रम्प–किम शिखर वार्ता निष्कर्षहीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बगेर सकिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस्वीकार गरेको बताए । निकै महत्वका साथ हेरिएको हनोई वार्तामा कुनै ठोस प्रगति हुन सकेन भने आणविक निःशस्त्रीकरण सम्बन्धी सम्झौता पनि भएन ।

उत्तर कोरियामाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न नेता किमले राखेको प्रस्तावलाई आफूले अस्वीकार गरेको पनि ट्रम्पले बताए ।

तेस्रो शिखर वार्ताको सम्भावनाका बारेमा पत्रकारले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “अहिल्यै त्यो सम्भव छैन, पछि के हुन्छ भन्न सकिन्न ।” 
यसअघि राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट पारेका थिए । उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको उनले बताएका थिए ।

“मलाई आजै केही भन्नु छैन, र त्यति हतार पनि छैन, तर अध्यक्ष किम र उत्तर कोरियासँग कुनै ठोस सहमति हुने अपेक्षा छ । त्यसपछि केही विस्तारमै भनौंला,” ट्रम्पले भनेका थिए ।

राष्ट्रपति ट्रम्पले कमजोर स्थितिमा पुगेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा सहमति जनाए उत्तर कोरिया आर्थिक रुपमा सशक्त मुलुक हुने दाबी पनि गरेका थिए ।

उत्तर कोरियाली नेता किमले पनि आणविक निःशस्त्रीकरणका लागि तयार नभएको भए ट्रम्पसँग वार्ता गर्नु जरुरी नै थिएन भन्दै ठोस सहमतिका निम्ति विस्तृत छलफल जारी रहेको बताएका थिए । तर, किमको पहिलो प्राथमिकता भने उत्तर कोरियाले संयुक्तराज्य अमेरिकाको अगुवाईमा लागेका प्रतिबन्धहरु फुकुवा होस् भन्ने चाहेको विश्लेषकहरु बताउँछन् । 

वार्ताकै क्रममा उत्तर कोरियाका नेता किम प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका थिए । 
आठ महिनापछि राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भएको हो ।

विशेषज्ञहरुले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका थिए ।