images
images

हेलिकोप्टर दुर्घटनामा: पर्यटनमन्त्री अधिकारी र पीएसओ घिमिरेको शवको पहिचान, अन्यको पहिचान गर्न कठिनाइ

काठमाडौं । ताप्लेजुङको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सात जनामध्ये संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो ।

पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन । पीएसओ घिमिरेको शव भने उनले लगाएको बुटका कारण पहिचान भएको होे ।

अन्य ५ जना पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र पाइलट प्रभाकर केसीको पहिचान हुन सकेको छैन । शव पूर्ण रुपमा जलेका कारण पहिचान हुन नसकेको हो ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शरीर पूर्ण रुपमा जलेका कारण अन्यको पहिचान हुन नसकेको बताए ।
विमानस्थलबाट शवलाई सिधै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टमका लागि लगिने भएको छ । परिवारलाई लगेर शव पहिचान गर्न प्रयास गरिने भएको छ ।

यदि परिवारको सदस्यले पनि शवको पहिचान गर्न नसकेको अवस्थामा डीएनए परीक्षण मात्रै विकल्प रहेनछ । जुन प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला वा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हुनेछ ।

प्रहरी प्रवक्ता सुवेदीले परिवारबाट पनि सनाखत नभएको अवस्थामा डीएनए परीक्षणको विधि अपनाइने बताए ।