images
images

सुदूरपश्चिमका पहाडी जिल्लामा फेरि हिमपात

डडेल्धुरा । सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएको छ । हिमपातले चिसो बढाएपछि जनजीवन प्रभावित बनेको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएको हो । करिब दुई दशकपछि डडेल्धुरामा फागुन महिनामा हिमपात भएको छ ।

केही दिनदेखि भइरहेको मौसम बदली र हल्का वर्षासँगै गएराति डडेल्धुरामा हिमपात भएको हो । जिल्लाको उच्च लेकाली भागको अनारखोली, भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा हल्का हिमपात भइरहेको स्थानीयले बताएका छन् । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न स्थानीयलाई समस्या भएको छ ।

एक्कासि बढेको चिसाले विशेषगरी वृद्ध–वृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् । पटकपटकको हिमपातले पाखो क्षेत्रमा लगाइएको हिउँदेबाली सप्रिने भए पनि वर्षाका कारण सिचाइँ हुने खेतमा लगाइएको गहुँलगायतको अन्नबाली भने नहुँने हो कि भन्ने पीर यहाँका किसानमा छ । यो वर्ष डडेल्धुरामा पाँचौपटक हिमपात भएको हो ।