काठमाडौँ- थाइल्यान्डमा जारी आइसिसी वुमन्स टीन्ट्वेन्टी विश्वकपको एसियाली छनोटमा नेपालले चौथो जित हात पारेको छ। सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हरायो। ७८ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७२ रनमात्र जोड्न सक्यो।
चिनकी कैयुन झौले १८ रन बनाइन्। झाङ मेईले ३३ रन बनाइन्। झौ र मेईबीच चौथो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नेपालकी बलर करुणा भन्डारीले चार ओभरमा ८ रन खर्चिइन् भने सिता रानामगरले ४ ओभरमा १९ रन खर्चिएर ३ विकेट हात पारिन्।
चीनलाई अन्तिम दुई ओभरमा २० रन आवश्यक रहेकोमा नेपालले १९ औँ ओभरमा केवल पाँच रन खर्चियो। यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७७ रन जोडेको थियो।
यसअघि नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन जोडिन्। सिता रानामगरले ११ र विन्दु रावलले १० रन बनाए। इन्दु बर्मा ८ र रुविना क्षेत्रीले पाँच रन जोडे। नेरी थापाले सात र सरिता मगरले ६ रन जोडिन्।
५ खेलबाट ८ अंक भएको नेपाल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चिनको पाँच खेलबाट ६ अंक छ। पाँच खेलबाट थाइल्यान्डको १० र यूएईको ८ अंक छ। नेपालले लिगको आफ्नो अन्तिम खेलमा बुधबार कुवेतसँग प्रतिस्पर्धा गर्ने छ। सोही दिन हुने अर्को खेलमा थाइल्यान्ड र यूएई आपसमा भिड्नेछन्।


जनता भ्वाइस 








