बुटवल – यो सिजनका पाँच प्रतियोगितामध्ये ३ वटाको उपाधि हात पारिसकेको विदेशी टोली दाफिन्स फुटबल क्लब क्यामरुन र विभागीय टीम नेपाल पुलिस क्लबबीच २१औं तिलोत्तमा गोल्डकपको उपाधि भिडन्त सोमबार हुँदैछ ।
खप्तड गोल्डकप, पोखरा गोल्डकप र बुढासुब्बा गोल्डकप धरानको उपाधि उचालेको दाफिन्स यसपटक तिलोत्तमा गोल्डकप फुटबलको २१औं संस्करणको उपाधि उचाल्ने दाउमा छ । पहिलोपटक तिलोत्तमा गोल्डकपमा सहभागिता जनाएको दाफिन्स र यसअघि ४ पटकसम्म तिलोत्तमा गोल्डकपको उपाधि उचालेको पुलिसबीचको प्रतिष्पर्धा रोमाञ्चक हुने अपेक्षा छ ।
तर यो सिजनमा नेपालका गोल्डकपहरु खेल्न आएको विदेशी टोली दाफिन्सले नेपालका बलिया मानिएका टीमहरुलाई सहजै पछाडि पारेकोले पुलिसका युवा खेलाडीलाई भने जितका लागि कडा संघर्ष गर्नुपर्ने देखिन्छ ।
दाफिन्सले तिलोत्तमा गोल्डकपमा खेलेका २ खेलमा कुनै पनि गोलको सामना गरेको छैन । झापा ११ लाई ५–० को फराकिलो अन्तरले हराएको दाफिन्स आयोजक रुपन्देही ११ लाई २–० को नतिजा निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
पुलिससँगको भिडन्तलाई सहज रुपमा लिएको दाफिन्सका प्रशिक्षक सिलो मार्टिन् बताउँछन् । ‘हामी सहज रुपमै मैदान उत्रिनेछौं,–उनले भने–पुलिसको टीम राम्रो छ, तरपनि हामी उसका कमजोरीहरु पत्ता लगाएर जित हाम्रो पक्षमा पार्नेछौं ।’
बुढासुब्बा गोल्डकपमा दाफिन्ससँग भिडेको पुलिस सेमीफाईनलमा पराजित भएको थियो । गोलरहित बराबरी भएपछि सडन डेथमा पुलिस बाहिरिएको थियो । त्यसको बदला लिने दाउमा पुलिस क्लब रहेको छ ।
पुलिस क्लबका कप्तान भरत शाह भन्छन्–‘हाम्रा आक्रामक खेल खेल्नेछौं र सक्दो छिटो नतिजा निकाल्नका लागि प्रयत्न गर्नेछौं ।’ आज दिउसो ३ बजेपछि शुरु हुने प्रतियोगिताको फाईनल खेल बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको बिजेताले ८ लाख ८० हजार, उपबिजेताले ५ लाख ५० हजार, प्रतियोगिता अवधिकै उत्कृष्ट खेलाडीले स्कुटर तथा विभिन्न ६ विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकले २५ हजारका दरले नगद पुरस्कार पाउने आयोजक रुपन्देही फुटबल संघका महासचिव लोक पुनले बताए । २०३३ सालदेखि सुरु भएको तिलोत्तमा गोल्डकपको गत वर्षको उपाधि थ्रीस्टार क्लबले जितेको थियो ।