पेचिङ – चीन र साउदी अरबबीच १० अर्ब डलरको तेल सम्झौता भएको छ । साउदीको राष्ट्रिय तेल कम्पनी साउदी अराम्कोले १० अर्ब डलरभन्दा बढीको साउदी–चाइनिज भेन्चरमा सम्झौता भएको बताएको हो । साउदी राजकुमार मोहम्मद बिन सलमानको चीन भ्रमणमा यो सम्झौता भएको हो ।
यसको उद्देश्य चीनको उत्तरपूर्वी लियाओनिङ प्रान्तमा प्रशोधन केन्द्र निर्माण र पेट्रोकेमिकल कम्प्लेक्स निर्माणका लागि यो भेन्चर स्थापना गरिएको हो । साउदीको जनरल इन्भेस्टमेन्ट अथोरिटीले पनि ३५ विभिन्न द्विपक्षीय स्मृतिपत्रमा हस्ताक्षर भएको बताएको छ । यसमा ऊर्जा, खानी, यातायात र ई–कमर्सजस्ता विषय समावेश छन् । सलमानले शुक्रवार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गरेका थिए ।
चीनले निरन्तर साउदीको आर्थिक विविधताको कार्यक्रमलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि जारी रहने आश्वासन दिएको छ । साउदीका लागि चीन सबैभन्दा ठूलो व्यापार हुने मुलुक हो । चीन साउदीसँग आर्थिक सम्बन्ध बढाउने पक्षमा छ । एजेन्सी