काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको सीटी स्क्यान उपकरण विग्रिएको धेरै भएको छ । जसका कारण विरामी मर्कामा परेका छन् । तर, स्वास्थ्य उपचार मौलिक हक भएपनि सरकारी अस्पतालको यो हालतमा सरकार बेखबर झैं बनेको छ ।
ढाड भाँचिएको, घुँडामा घाउ लागेको, जोर्नी चुँडिएको, टाउकोको चोटपटकको अवस्था परीक्षण गर्न सीटी स्क्यान अत्यावश्यक छ । ट्रमा सेन्टरमा अधिकांश यस्तै अवास्थाका बिरामी मात्र आउँछन् । तर अस्पतालमा सिटी स्क्यान बिग्रिएको ४ महिना बितिसकेको छ । सिटि स्क्यान मात्रै होइन इमर्जेन्सी कै एक्सरे पनि बिग्रिएको ६ महिना बढी भैसक्यो । यी उपकरणहरु भारत सरकारको सहयोगमा ल्याइएको हो ।
अस्पतालमा सिटी स्क्यान र इमर्जेन्सीको एक्सरे बिग्रिंदा बिरामीहरुले सास्ती खेप्नु परेको गुनासो गरेका छन् । भारत सरकारले ट्रमा सेन्टर हस्तान्तरण गर्दासंगै अनुदानमा दिएका यी उपकरणहरु एकपछी अर्को गर्दै बिग्रिएर थन्किन थालेका छन् । तर, ट्रमा सेन्टर भने सिटी स्क्यानको ट्युब नै गएकाले ट्युब फेर्न ५८ हजार अमेरिकी डलर लाग्छ । सेन्टरले स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको बताएको छ ।
त्यसो त ट्रमा सेन्टरको सिटी स्क्यानले क्षमता भन्दा बढी काम गरिसकेको छ । साढे ३ लाख सिटी स्क्यान गर्ने आयु भए पनि ६ लाख पुगिसकेको अस्पतालले जनाएको छ । अस्पतालका कर्मचारी भने सिटी स्क्यान बिग्रिंदा बिरामीलाई ट्रलीमा हालेर वीर अस्पतालको सिटी स्क्यानमा लैजानु पर्ने बाध्यता छ ।
यसो गर्दा कैयौ बिरामीको ज्यान समेत जाने गरेको बताउँछन् । सरकारी अस्पतालका उपकरणहरु उचित सदुपयोग र समयमै मर्मतसम्भारको व्यवस्था नहुँदा एउटै समस्या दोहोरिने गरेको छ ।