काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका रसुवाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य प्रेम तामाङ आज कांग्रेस प्रवेश गर्दैछन्। तामाङ रसुवा (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
तामाङसँगै नयाँ शक्तिका रसुवा संयोजक फुर्बा वाङ्दी लामा पनि कांग्रेस प्रवेश गर्न लागेका हुन्। फुर्बाले सामूहिक रुपमा कांग्रेस प्रवेश गर्न लागेको बताए।
यस्तै, आमा छोदिङमा गाउँपालिकाका प्रमुख बुचुङ तामाङ कांग्रेसमा प्रवेश गर्ने बताइएको छ। उनीहरुसँगै नयाँ शक्तिका केही स्थानीय कार्यकर्ता पनि कांग्रेस प्रवेश गर्दैछन्।
सोमबार दिउँसो जिल्लास्थित कालिकास्थानमा उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस रसुवाका सांसद मोहन आचार्यले जानकारी दिए।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवामा कांग्रेस र नयाँ शक्तिले तालमेल गरेका थिए। आचार्य कांग्रेसबाट निर्वाचित हुन्। यता प्रदेशमा कांग्रेसबाट प्रभात लामा र नयाँ शक्तिबाट प्रेम तामाङ निर्वाचित भएका थिए।