इनरुवा । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई तिहाई सरकारसँग चिडिएको नेपाली कांग्रेस अनरगल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाउनु भएको छ ।
खनालले कांग्रेसलाई पार्टी भित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको भन्दै नेकपा सरकार विरूद्धको दुष्प्रचारमा केन्द्रिकृत भएको बताउनु भएको छ । सुनसरीको दक्षिणवर्ति गाउँपापालिका देवानगञ्जमा आयोजित बृहत सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खनालले जनमतबाट बढारिएको कांग्रेस सरकारलाई कमजोर देखाउन हरसम्मत प्रयासरत रहेको धारणा राख्नु भएको हो ।
विभिन्न समयमा मुलुकको बागडोर सम्हालेतापनि दीर्घगामी सोच र दुरदृष्टि अभावमा नेपाली कांग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको बताउनु भएका खनालले मुलुकको समृद्धि र विकासमा वर्तमान सरकारले कायापलट गरेको बताउनु भयो । समुन्नत मुलुकको परिकल्पना साकार तुल्याउन अग्रसर नेकपाको सरकारलाई कसैले डगमगाउन नसक्ने उहाँको दाबी थियो ।
कार्यकर्ताको मूल्याङकन गर्न नसक्ने कांग्रेसबाट आम जनताले मुलुकको समृद्धि र विकासको अभिलाषा राख्नु केवल स्वप्न मात्र हुने खनालको भनाई थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपाका १ नम्वर प्रदेश इन्चार्ज भीम आचार्यले नेपाली कांग्रेस नेपाली राजनितिमा २५ वर्ष पछी परेको धारणा राख्नु भयो ।
वर्तमान सरकारकै नेतृत्वमा मुलुकको विकास र समृद्धि निहित भएको बताउनु भएका आचार्यले संगठनात्मक रुपमा थप दरिलो बनेको नेकपालाई कसैले अलग गराउन नसक्ने ठोकुवा समेत गर्नु भयो । कार्यक्रममा रामचरण मेहता, रामचन्द्र मेहता सहितको अगुवाईमा नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरम आवद्ध ३ सय बढी स्थानीय नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।