डोटी – डोटीमा रहेका एनसेलका टावरहरुमा प्रहरीले सुरक्षा दिन थालेको छ । जिल्लाका प्रमुख स्थानमा रहेका एनसेलका टावरमा प्रहरीले चौबिसै घण्टा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अज्ञात समूहले एनसेलका टावरमा बम विष्फोट तथा आगजनी गर्न थालेपछि हामीले हाम्रो जिल्लामा भएका एनसेलका टावरमा सुरक्षा दिइरहेका छौँ ।’
प्रहरीले डोटीको चौखुट्टे, जिल्ला सदरमुकाम सिलगढी, बुडर, जोरायल, बिपिनगर, बोगटान, वाइललगायतका क्षेत्रमा रहेका एनसेलका टावरमा अहिले कडा सुरक्षाको प्रबन्ध छ । इलाका प्रहरी कार्यालय बुडरका प्रमुख रुपसिंह थापाले भन्नुभयो, ‘एनसेलका टावरमा क्षति हुन नदिनू भन्ने आदेश आएकाले हामीले चौबिसै घण्टा सुरक्षा दिदै आएका छौ ।’
अज्ञात समूहले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र अछाम जिल्लाको एनसेलको टावरमा आगजनी गरेपछि अहिले ती दुई जिल्लामा एनसेलले काम गर्न छोडेको प्रहरीले जनाएको छ । डोटीमा मात्रै साना ठूला गरी एनसेलका करिब १०० भन्दा बढी टावर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।