राजविराज । भन्सारबाट समान आयात–निर्यात गरेवापत हप्ता नबुझाएको भन्दै सप्तरीमा सशस्त्र प्रहरीद्वारा एक महिला कुटिएकी छन् ।
सशस्त्र प्रहरी बल तिलाठी बेसक्याम्पका जवान दीपेन्द्र झाले छिन्नमस्ता गाउँपालिका–१, बरही, वीरपुरकी अरुणदेवी यादवलाई कुटपिट गरेको गुनासो पीडित परिवारको छ ।
महिनौंदेखि आफूजस्ता सर्वसाधारणलाई ‘एसपीको मान्छे हुँ’ भन्दै धम्काएर प्रहरीजवान झाले दैनिक ५०० रुपैयाँका दरले उठाउँदै आएको यादवले आरोप लगाएकी छन् ।
गाउँमा किराना पसल सन्चालन गर्दै आएकी यादवले प्रहरीजवान झालाई हप्ता बुझाउन नसक्दा कुटपिट गरेको बताएकी हुन् ।
कुटपिटबाट नाक र छातीमा चोट लागेकी यादवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
सशस्त्र प्रहरीका डीएसपी नवीन बोगटीले भने महिलालाई कुटपिट नगरेको र भन्सार छलेको सामान नियन्त्रणमा लिएपछि बदनाम गर्न कुटपिटको आरोप लगाएको बताएका छन् ।