images
images

नेताको घरदैलोमा ग्यास उद्योगी

काठमाडौं । कमिसन वृद्धि लगायतका माग पूरा नगरे बिक्री ठप्प पार्ने चेतावनीसहित सरकारलाई अल्टिमेटम दिएका ग्यास उद्योगीले राजनीतिक ‘लबिङ’ थालेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० बुँदे माग पूरा गर्न नेपाल एलपी ग्यास उद्योग संघले सरकारलाई १० दिने अल्टिमेटम दिएको थियो ।

त्यसको चौथो दिन आइतबार संघका पदाधिकारीहरु नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न पुगेका छन् । भेटमा उद्योगीहरुले समस्या समाधानका लागि देउवासमक्ष आग्रह गरेका छन् ।

जवाफमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर तत्काल समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको संघका सचिव श्याम बुढाथोकीले जानकारी दिए ।

संघले उद्योगहरुको यथार्थ सञ्चालन खर्च, ग्यास बिक्रेताहरुको यथार्थ कमिसन, स्थानीय ढुवानी भाडा, उद्योगको कार्यगत नोक्सानी, बीमा खर्च, मुनाफा तथा बिक्रेतारवितरकको उचित नाफाका लागि तत्कालै एक समिति गठन गर्नुपर्ने र यसबारे अध्ययन गरी प्रत्येक वर्ष कमिसन र खर्च समायोजन हुनुपर्ने माग अघि सारेको छ ।

यदि आफ्ना माग पूरा नभए संघले फागुन १७ गतेदेखि ग्यासको पीडीओ खरिद नगर्ने घोषणा समेत गरेको छ ।  फागुन २२ गतेदेखि एलपी ग्यासको लोडिङ बन्द गर्ने, फागुन २५ गतेदेखि आयात रोक्ने, फागुन २८ देखि उद्योगहरु समेत बन्द गर्ने संघको चेतावनी छ ।