काठमाडौं । स्वदेशी ग्यास उद्योगले बुलेट बनाउन भारत लगेका ‘च्यासिस’ धमाधम नेपाल फर्काउन थालेका छन् । नेपाली बुलेट सञ्चालन गर्न सरकारले दरिलोसँग कुरा राख्न नसकेपछि भारतमै अलपत्र परेका च्यासिस नेपाल ल्याउने प्रक्रिया सुरु भएको हो ।
ग्यास उद्योगी आफैले बुलेट राख्ने र सोही बुलेटमार्फत ग्यास ल्याउने उद्देश्यसहित नेपालबाट च्यासिस भारत लगेका थिए । तर, बुलेट राख्ने नेपाल सरकारले चालेको कुटनीतिक पहल सफल नहुँदा ग्यास उद्योगीले धमाधम च्यासिस फर्काउन थालेका छन् ।
बुलेट राख्ने आश मरेपछि च्यासिसलाई नेपालमै ल्याएर कवाडीका रुपमा बेचेर भए पनि बैङ्कको ब्याज तिर्ने तयारीमा उद्योगी छन् । भन्सार विभागका अनुसार भन्सारमा २५/३० ओटा च्यासिस आइसकेका छन् । कतिपय उद्योगीले च्यासिससँगै टायरसमेत राखिसकेका छन् ।
उद्योगीले बैङ्कबाट लोन लिएर ग्यास बुलेट बनाउन भारत पठाएका थिए । उनीहरुले भारतलाई एडभान्सका रुपमा केही रकमसमेत दिइसकेका थिए । तर, उक्त रकम पनि फिर्ता नआउने पक्का भइसकेको छ ।
त्यसैगरी भन्सारमा राखेको धरौटीसमेत जफत हुने भएको छ । नियमानुसार सुरु गरेको ६ महिनाभित्र उद्योगीले ग्यास बुलेट ल्याएको भए, धरौटी फिर्ता हुन्थ्यो । तर, ६ महिना नाघिसकेकाले उनीहरुको सम्पूर्ण धरौटी जफत हुने पक्का भएको हो । ‘सरकार नियमानुसार अघि बढ्ने हो,’ भन्सारका एक उच्च अधिकारीले भने, ‘कानुनमा उल्लेख भएको प्रावधानअनुसार भन्सार विभाग अघि बढ्छ ।’
एकातिर उद्योगीले आफ्नो ग्यास बुलेट राख्न पाएनन् भने अर्कोतिर उनीहरुले ठूलो ‘घाटा’समेत ब्यहोरे । भन्सारमा राखिएको पाँच प्रतिशत धरौटी र भारतीय बुलेट निर्माता कम्पनीलाई दिएको एडभान्स पनि गुम्न लागेको उद्योगीले बताएका छन् ।
‘देशलाई फाइदा होस्, देश आत्मर्निभर बनोस् भनेर बुलेट राख्न हामी अग्रसर भएर लागेका थियौं,’ एक उद्योगीले भने, ‘तर, सरकारले भारतसँग अडान राख्न नसक्दा नेपालले बुलेट त पाएन पाएन, लगानीसमेत डुब्यो ।’ कतिपय उद्योगीले १५ देखि २० ओटासम्म ग्यास बुलेट बनाउन अर्डर दिएका थिए । सोहीअनुसार बुलेट निर्माता कम्पनीलाई एडभान्सबापतको रकम र धरौटी राखेका थिए ।
सरकारले अनुमति दिएर उद्योगी ग्यास बुलेट राख्न तयार भएका हुन् । सरकारले भारतसँग कुरा गरेर स्वदेशी बुलेट नै राख्ने वातावरण बनाउँछु भनेपछि उद्योगीहरु हौसिएर बुलेट बनाउन अर्डर दिएका थिए ।
उद्योगीले ग्यास बुलेट बनाउन अर्डर दिएपछि तीन जना सरकार प्रमुखको भारत भ्रमण भइसकेको छ । ग्यास बुलेट अर्डर दिँदा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको थिए । त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको र उनको भारत भ्रमणका बेला पनि ग्यास बुलेटको कुरा गम्भीर रुपमा उठ्न सकेन । त्यसपछि फेरि ओलीकै नेतृत्वमा सरकार बनेको र उनले भारत भ्रमण पनि गरिसके, तर अझै ग्यास बुलेटका लागि बाटो नखुलेको उद्योगीहरु बताउँछन् ।
धरौटी फिर्ता गर्न उद्योगीको माग
सरकारकै असक्षमताका कारण भारतबाट नेपाली बुलेट आउन नसकेपछि सरकारले उद्योगीको धरौटी फिर्ता गर्नुपर्ने माग गरेका छन् । सरकारले स्वीकृति दिएर ग्यास बुलेट राख्ने प्रक्रिया अघि बढाएका थिए । सरकारले भारतसँग दरिलो लबिङ गर्न नसकेकाले बुलेट नआएको हो । अनि बुलेट आएन भनेर फेरि उद्योगीको धरौटी जफत गर्न नमिल्ने उनीहरुको भनाइ छ ।