काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले विमानस्थल भन्सारमा भइरहेको जाँचको विषयमा भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाएका छन् । उनले विमानस्थल भन्सारमा हुने जाँचको विषयलाई ठूलो मुद्दा बनाइएको भन्दै सामान्यरुपमा लिन आग्रह गरेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउनेहरुले ल्याउने सामग्रीको जाँचपासमा कडाइ गरिएको छ ।
राजस्व बढाउन भन्दै भन्सारमा कडाई गरिएपछि प्रवासी नेपालीहरुले असन्तुष्टि जनाइरहेका छन् । यस्ता विषयलाई अनावश्यक रुपमा उचालिएको भन्दै अर्थ मन्त्री खतिवडाले त्रिभुवन विमानस्थलबाट हुने जाँचपास सहज रहेको दाबी गरे ।
लगानी सम्मेलनको तयारीका लागि बेलायतको लण्डनमा रहेका अर्थ मन्त्री खतिवडाले गैरआवासीय नेपाली संघको कार्यक्रममा भने, ‘ठूला मुलुकमा चेकजाँच हुदाँ सामान्य मानिने भएपनि हामी कहाँ त्यही चेकजाँचको विषयलाई ठूलो मुद्दा बनाइयो ।’
अर्थ मन्त्री खतिवडाले नेपालीले उपयोग गर्न सक्ने र सुविधाका सामान मात्र अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट लैजान सबैलाई आग्रह गरे ।