काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले राष्ट्रको सार्वभौमिकता माथि धावा बोल्ने र गैरकानुनी गतिविधिविरुद्धमा संलग्न कसैलाई नछोड्न निर्देशन दिएका छन् । यही फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
खनालले राज्यको नियम–कानुन विरुद्ध लाग्ने जोकोही भएपनि एकताबद्ध भई सशक्त र दृढताका साथ अगाडि बढ्नुपर्ने बताए । संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहित प्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै आईजीपी खनालले भने, ‘‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नोे लगनशीलता नछोडनुस् ।’’ संगठनलाई पुर्याएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको खनालले चर्चा गरे ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै उनले अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका १३ जना र प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका २६ जना रहेका छन् । पदोन्नति भएका १ जना प्रहरी वरिष्ठ उपरीक्षक हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका छन् ।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुको तर्फबाट बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप भण्डारीले पदोन्नतिले आफूहरुमा थप उर्जा सञ्चार भएको उल्लेख गर्दै सामूहिक रुपमा मन, वचन र कर्मले संगठन र नागरिकप्रतिको जिम्मेवारी पूरा गर्न दृढ संकल्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।