images
images

नेकपाका संगठित–क्रियाशील सदस्यमात्रै होइन शीर्ष नेता नै बेरोजगार !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले गति लिन नसक्दा साविक एमाले र माओवादी केन्द्रका संगठित–क्रियाशील सदस्यमात्रै होइन शीर्ष नेता नै बेरोजगार छन् ।

गत जेठ ३ गते दुई पार्टी एक भए यता एकता प्रक्रिया प्रदेश तहसम्म विस्तार हुन सकेको छ । एकीकरणका लागि गठित चारवटै कार्यदल निस्प्रभावि हुँदा एकता प्रक्रिया तहगत कमिटीमा ओर्लन सकेको छैन । भ्रातृ संगठन पनि विघटनप्रायः छन् । एकीकरणका लागि गठित पछिल्लो कार्यदलको प्रतिवेदन सचिवालयमा पेस भएको छ । र, फागुन महिनाभित्रै एकता प्रक्रियालाई अन्तिम रूप दिनेगरी शीर्ष तहमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

सोमबार बसेको नेकपाको सचिवालय बैठकमा रामबहादुर थापा ‘बादल’ संयोजकत्वको कार्यदलले तयार पारेको आंशिक प्रतिवेदन पेस भएको थियो । ९ गते ९ बजे बस्ने कार्यदलसहितको सचिवालय बैठकले संगठनात्मक एकीकरण टुंग्याउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।

पूर्वप्रधानमन्त्री र पार्टी अध्यक्ष नै भूमिकाविहीन
नेकपामा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी छ । तर, अध्यक्ष, महासचिव र पार्टी प्रवक्ताबाहेकको जिम्मेवारी र भूमिका विधानले किटान नगरेको र स्थायी कमिटी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत नभएकाले अधिकांश भूमिकाविहीन छन् ।

नेकपाको विधानले पार्टी अध्यक्षद्वयलाई पार्टीको प्रमुख नेताका रूपमा समग्र पार्टीको नेतृत्व गर्नेसहित ७ वटा अधिकार प्रत्यायोजन गरेको छ  । महासचिवलाई ५ र प्रवक्तालाई ३ अधिकार प्रत्यायोजन गरिएको छ । बाँकीको कामको क्षेत्र विधानले नतोकेकाले भूमिकाविहीन हुनुपरेको नेकपाका नेताहरू बताउँछन् । मदन भण्डारीको देहावसानदेखि २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनसम्म पार्टी प्रमुख (महासचिव)को भूमिका निर्वाह गरेका तेस्रो वरीयताका नेता माधव नेपाल नेकपामा अहिले बेरोजगारप्रायः छन् ।

सचिवालय, स्थायी कमिटीको बैठकमा निर्णय प्रक्रियामा सहभागी हुने बाहेक दैनिक पार्टी सञ्चालनमा उनको भूमिका छैन । काठमाडौं–२ बाट प्रतिनिधिसभामा निर्वाचित हुनाले राजकीय जिम्मेवारीमा त छन् । तर, संसदीय दलमा पनि उनको भूमिका छैन ।

१४ वर्ष पार्टी प्रमुखको जिम्मेवारी सम्हालेका र २०७१ साउमा सकिएको एमालेको नवौँ महाधिवेशनमा अध्यक्षको प्रत्यासी रहेर झिनो मतान्तरले पराजित नेता नेपालसँग मुलुकको कार्यकारी प्रमुखको समेत भूमिका निर्वाह गरेको अनुभव छ । तर, आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा आफूसँग कुनै परामर्श तथा सल्लाह नलिएको र दिन नपाएको दुखेसो उनले पोख्दै आएका छन् ।फागुन १ गते जनकपुरमा आयोजित एक कार्यक्रममा  सरकार र पार्टी सञ्चालनमा दुवै अध्यक्षले सरसल्लाह नगरेको र आफूखुसी निर्णय लिएको उनले गुनासो गरे ।

२०६६ जेठ ११ गतेदेखि २०६७ माघ २२ गतेसम्म मुलुकको ३३ औँ प्रधानमन्त्री रहेका नेपाल नेकपा एकीकरण हुनुपूर्व पार्टीको वैदेशिक मामिला विभाग प्रमुख थिए । एकतापश्चात पनि उनी पार्टीको सोही भूमिकामा त छन् । तर, औपचारिक जिम्मेवारीका हिसाबले हैन ।

“तत्कालीन एमाले छँदा जुन विभागीय जिम्मेवारी सम्हालिरहनुभएको थियो, विदेश विभाग, भूमिकाका हिसाबले अहिले पनि त्यही काम गरिरहनुभएको छ । तर, पार्टी कमिटीले बैठक बसेर कुनै नेतालाई जिम्मेवारी तोकेको छैन,” नेपाल निकट नेता बताउँछन् । पार्टी एकतालगत्तै कार्ल माक्र्स द्वीशतवार्षिकी कार्यक्रम मनाउन नेकपाले नेता नेपाललाई जिम्मेवारी दिएको थियो । त्यसपछि भने उनले कुनै जिम्मेवारी पाएका छैनन् ।

युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्रशान्त सम्मेलनको अध्यक्षता पनि नेता नेपालले गरे । निकै विवादितसमेत भयो, उक्त कार्यक्रम । गत माघ १६ गते लाओ पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दैै नेता नेपाल लाओस भ्रमणमा गए । त्यसभन्दाअघि गत असोजमा नेपाल चीन भ्रमणमा समेत गएका थिए । यी सबै कार्यक्रम पार्टीको आधिकारिक जिम्मेवारी बाँडफाँटका आधारमा नभइ पूर्व वैदेशिक मामिला विभाग प्रमुखको हैसियतमा भूमिका निर्वाह गरेको नेपाल निकट नेता बताउँछन् । पार्टीभित्र भूमिकाको खोजीमा रहेका अर्का नेता हुन्– झलनाथ खनाल ।

०६५ देखि ०७१ सम्म ६ वर्ष पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेका नेता खनाल माओवादी केन्द्रसँग पार्टी एकता गरेपछि भने ओझेलमा परेका छन् । नवौं महाधिवेशनले पारित गरेको विधानअनुसार उनी नेकपा एमालेको वरिष्ठ नेता थिए । तर, एकताका बेला भने उनी घटुवामा परे र वरीयतामा माधव नेपालभन्दा पछि परे । यसैलाई लिएर नेता खनालले पार्टी सचिवालयमा असन्तुष्टि दर्ज गराएका छन् । तर, सुनुवाइ भएको छैन ।

पार्टी एकतापूर्व खनाल स्वतन्त्र नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारीमा थिए । खनालका अनुसार त्यसले ‘थिंक ट्यांक’को काम गर्ने लक्ष्य लिएको थियो । पार्टी एकतासँगै ‘थिंक ट्यांक’को उपादेयता पनि समाप्त भयो । एकतापछि खनाल पनि जिम्मेवारीविहीन् भएका छन् । पार्टीले कुनै जिम्मेवारी नदिएकाले उनी आफैँ जिल्ला दौडाहा निस्कन लागेको खनालनिकट स्रोत बताउँछ ।

“पार्टी अध्यक्षद्वयले एकीकरणलाई टुंग्याउन चासो र चिन्ता नदेखाएले उहाँ आफैँ जिल्ला दौडाहामा निस्कने योजनामा हुनुहुन्छ, सम्भवतः फागुन १२ गतेबाट उहाँ जिल्ला दौडाहामा निस्कनुहुन्छ,” खनाल निकट स्रोतले बाह्रखरीसँग भन्यो ।

माधव नेपाल प्रधानमन्त्रीबाट बहिगर्मित भएलगत्तै २०६७ माघमा मुलुकको ३४ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका नेता खनालसँग सरकार प्रमुख सम्हालेको अनुभव छ । तर, वर्तमान सत्ता सञ्चालनमा आफूले परामर्श दिन नपाएको र पार्टी अध्यक्ष ओलीले पूर्वअध्यक्ष तथा  पूर्वप्रधानमन्त्रीसँग राय–सुझाव लिने त परको कुरा भेटसमेत दिने नगरेको नेकपाका शीर्ष तहका नेता बताउँछन् ।

बिरामी हुनुपूर्व वयोवृद्ध नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले यस्तै गुनासो गरेका थिए । प्रधानमन्त्री भेट्न आफूले पटक–पटक ताकेता गरेको, समय मागेको तर प्रधानमन्त्रीको सचिवालयले वेवास्ता गरेर समय उपलब्ध नगराइदिएको उनको चित्त–दुखाइ थियो ।

विभाग नबन्दासम्म बेरोजगार 
विभागले पूर्णता नपाउँदासम्म शीर्ष (सचिवालय तहका) नेताहरू समेत बेरोजगार रहने नेकपा स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् ।

नेकपाले अहिले ३२ वटा विभागको प्रस्ताव गरेको छ । ती विभाग र फाँट (जनसंगठन) इन्चार्जहरू तोकिँदा सबैले जिम्मेवारी पाउने उनको दाबी छ । नेकपाभित्र २२ जनसंगठन क्रियाशील छन् । स्थायी कमिटी, पोलिट्ब्युरो सदस्य र कतिपयमा केन्द्रीय सदस्यमध्येबाटै पनि इन्चार्ज, सहइन्चार्ज तोकिने भुसालको भनाइ छ । क्याबिनेटमन्त्रीहरूलाई विभाग र फाँट प्रमुखको जिम्मेवारी निदइने भुसाल बताउँछन् ।

“विभाग र फाँट प्रमुख नतोकिँदा अन्यौलता भएको हो, अब बस्ने कार्यदल र सचिवालयको संयुक्त बैठकले एकीकरणको विस्तृत खाका तयार पार्छ, अन्यौलता धेरै हदसम्म पन्छन्छ,” उनको भनाइ छ । यस खबर  ब्रहाखरीमा प्रकाशित गरिएको छ ।