images
images

लगानीकर्ता खोज्न अर्थमन्त्री खतिवडा लण्डन प्रस्थान

काठमाडौँ । प्रस्तावित लगानी सम्मेलनमा अधिकतम विदेशी लगानी भित्र्याउन अर्थमन्त्री आफैंले पहल थालेका छन्। यसका लागि अर्थमन्त्री डा युवराज खतिवडा मंगलबार लण्डन प्रस्थान गरेका छन्।

लण्डन बसाइका क्रममा अर्थमन्त्री खतिवडाले नेपाली राजदूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। नेपाल विकास सम्मेलनमा बेलायतका लगानीकर्तालाई आमन्त्रण गरिएको छ।

त्यसैगरी मन्त्री खतिवडाले बेलायतस्थित गैरआवासीय नेपालीका प्रतिनिधि तथा नेपाल–बेलायत चेम्बर अफ कमर्सले आयोजना गर्ने विकास तथा लगानीसँग सम्बन्धित कार्यक्रममा पनि नेपालमा लगानीको संभावनाबारे जानकारी गराउने छन्।

‘कुनै आयोजना विशेषमा लगानीका लागि भन्दा पनि नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा त्यहाँका लगानीकर्तासँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ,’ अर्थ मन्त्रालयका उपसचिव होमकान्त भण्डारीले भने। खतिवडा सचिवालयका एक सहयोगी र लगानी बोर्डका एकजना प्रतिनिधि लिएर लण्डन उडेका हुन्।

चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा अधिकतम विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले लगानीकर्तालाई कन्भिन्स गर्ने कोशिश गरिरहेको छ। अधिकतम लगानीको प्रतिवद्धता भित्र्याउने र त्यसलाई वास्तविक लगानीमा परिणत गर्न खतिवडाले जोड दिएका हुन्।