नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले तत्कालीन एमालेका ठूला नेतालाई पार्टीमा भित्र्याएका छन् ।काभ्रेमा मंगलबार आयोजित जीपी कोइराला फाउण्डेसनको कार्यक्रममा डा.कोइरालाले तत्कालीन नेकपा (एमाले)को बुद्धिजीबी संगठन काभ्रेको अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता शिव सिग्देललाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
कम्युनिस्ट सरकारले जनताका अधिकार खोस्ने, निर्वाचनका बेला गरिएको प्रतिवद्धता विपरितका कार्य गर्ने, नेता तथा कार्यकर्ताको भावना विपरितका क्रियाकलाप गरेको भन्दै अध्यक्ष सिग्देलले कम्युनिस्ट पार्टी परित्याग गरेको बताए । उनले कम्युनिस्टका पार्टीका नेताहरू स्वार्थमा चर्लुम्म भएको बताए । नेपाली कांग्रेसका नेता डा.कोइरालाले कम्युनिस्टहरू कुरा मात्रै धेरै गर्ने भन्दै उनीहरूबाट जनताले विकास र समृद्धिको कुनै आश गर्न नहुने बताए ।
‘निर्वाचनका बेला वृद्ध भत्ता बढाउनेदेखि विकास निर्माण, रोजगारी आदिको कुरा गरेका थिए’, उनले भने, ‘निर्वाचनमा जनतालाई झुक्काएर भोट लिएर जिते । एउटा वृद्ध भत्ता पनि बढाएनन् । कांग्रेससहित सबै नागरिक समाजले दवाव दिएपछि बल्ल वृद्ध भत्ता बढाउने भन्दै छन् ।’
कांग्रेसले नै सबै जनताको हक, अधिकारको रक्षा गर्ने उनको भनाइ छ । कम्युनिस्ट सरकारले अभिव्यक्ति स्वगतन्त्रतामा अंकुशलगाउन थालेको भन्दै कांग्रेसका नेता डा.कोइरालाले कम्युनिस्ट अधिनायकवाद शुरु भैसकेको बताए ।
‘कम्युनिस्टहरू दुई तिहाइको बहुमत पाएपछि निरंकुश हुन खोजेका छन् । अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गर्दै छन्’, उनले भने, ‘यसका विरुद्ध सडक र सदनबाट कांग्रेसले मुकाबिला गर्नुको बिकल्प छैन ।’ डा.कोइरालाले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध संघर्ष गर्ने बेला आइसकेको बताए ।